चलचित्र निर्माता संघले आफ्नो तेह्रौं साधारणसभा सम्पन्न गरेको छ । संघले राजधानीको प्रज्ञा भवनमा शनिवार साधारण सभा सम्पन्न गरेको हो । संघका कार्यसमितीका सदस्य सहित थोरै मात्र निर्माता उक्त कार्यक्रमा उपस्थित देखिए ।
औपचारिक तथा बन्द सत्र गरि दुई भागमा विभाजित कार्यक्रममा नेपाली फिल्मको प्रतिनिधित्व गर्दै संविधान सभाको निर्वाचनमा बिजयी भएका सभासद तथा हल सञ्चालक रामवीर मानन्धरलाई खादा ओढाई सम्मान गरिएको थियो । त्यसैगरि शिव रेग्मी चलचित्र पुरस्कारकालागि एक लाख रूपैयाँको अक्षय कोष खडा गरेका निर्माताद्धय विरेन श्रेष्ठ र सुनिल सिटौलालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
साधारण सभामा बोल्दै सभासद रामवीर मानन्धरले फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै संविधान सभामा गएकाले फिल्म क्षेत्रकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘अघिल्लो सरकारको पालामा बनेको राष्ट्रिय चलचित्र नीति पूर्ण छ भने त्यसलाई लागू गराउन र यदि अपूर्ण छ भने त्यसमा बृहद छलफल गराएर लागू गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।'
नीर शाहले नेपाली फिल्म उद्योगमा निर्माता,वितरक, प्रदर्शक, कलाकार र प्राविधिकमा जुगलबन्दी रहेको भन्दै सबैले सबैको अस्तित्व स्वीकारेर अगाडि बढ्नुपर्ने बेला भएको धारणा राखे । फिल्म सम्बन्धी विविध संस्थाका अधिकारीहरुको उपस्थितिमा सम्पन्न साधारण सभालाई संस्थाका अधिकारीहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

