कस्मेटीक पसलमा प्रणय दिवसको लागि गुलाफ र गिफ्टका समानको बिक्री बढ्दो छ । शहरमा गुलाफ र कस्मेटिक सामानको बिक्रि बढिरहँदा नेपाली फिल्मकर्मीको बैवाहिक सम्बन्धमा भने ब्रेकअप आउने क्रम पनि बढ्दै गएको तथ्य छ । सम्पूर्ण प्रेम जोडीलाई प्रणय दिवसको शुभकामना दिदै फिल्मीखबरले बैवाहिक जीवनमा ब्रेकअप आएका केही जोडीलाई यहाँ प्रस्तुत गरेको छ ।
अभिनेता भुवन केसीका प्रायः फिल्म रोमान्टिक छन् । रिलमा रोमान्टिक हुने भुवनको रियल लाइफ भने रोमान्टिक हुन सकेन । उनको दुइ वटै श्रीमती विजया र सुस्मितासँग ब्रेकअप हुन गयो । त्यस्तै एक्सन अभिनेताको रुपमा चिनिने शिव श्रेष्ठले पनि पहिलो श्रीमतीबाट धोका पाए । पहिलो श्रीमतीले छोडेर युके उडेपछि शिवले चितवनकी एक युवतीलाई बिवाह गरे । दोस्रो श्रीमतीले बच्चा हुर्काउँदै गर्दा शिव केही बर्षदेखि अर्की युवतीको प्रेम पासोमा परेको बताइन्छ ।
अभिनेत्री संचिता लुइँटेलले पनि पहिलो प्रेमी आकाश विक्रम शाहबाट छुट्टिईन् । परिवारको स्विकृती बिनै आकाशसँग कानुनी बिवाह गरेकी संचिताले केही बर्षपछि बैवाहिक सम्बन्ध तोड्दै एक्सन अभिनेता निखिल उप्रेतीसँग सम्बन्ध जोडिन् । अर्की अभिनेत्री रञ्जना शर्मा र निर्देशक श्याम भट्टराई बिचको बैवाहिक सम्बन्ध तोडिएको पनि लामो समय भैसक्यो । निर्देशक भट्टराईलाई भुलेर रञ्जना यतिबेला अमेरिकामा छिन । श्याम भने बेलाबेलामा सामाजिक सञ्जालमा बिछोडका पल सम्झेर बिलौना गर्ने गर्छन् ।
सधैं मिडियामा छाउने अभिनेत्री रेखा थापा र निर्माता छवि ओझाले आफ्नो बाह्र बर्षे बैवाहिक सम्बन्धलाई ब्रेकअप लगाएको करिब दुई बर्ष हुन लाग्यो । ब्रेकअप पछि पनि ‘हमेशा’ फिल्ममा सहकार्य गरेका रेखा र छविको सम्बन्ध केही समयदेखि भने गुलियो छैन । त्यस्तै ‘झोले’ अभिनेत्री प्रियंका कार्कीले बैवाहिक जीवनलाई विश्राम दिएर फिल्म क्षेत्र रोजिन् । यस्तै अभिनेत्री झरना बज्राचार्यको पनि बैबाहिक जीवन सफल हुन सकेन । एक बिदेशी नागरिकसँग बिबाह गरेकी झरनाको डिभोर्स निकै छोटो समयमा भयो ।
पाश्र्व गायिका अञ्जु र मनोज सेवाको बैवाहिक सम्बन्ध पनि दिगो हुन सकेन । सेवाले अर्को बिहे गरेपनि अञ्जुले भने छोरी पालेर बस्ने भन्दै अर्को बिह हुन नसक्ने बताउँदै आएकी छिन् । यीसँगै कृति भट्टराई, साराङ्गा श्रेष्ठ, पूजा चन्द, सौजन्य सुब्बा, सिर्जना बस्नेत, गौरी मल्ल लगायतका अभिनेत्रीको बैवाहिक जीन्दगी ‘दुई दिनको घाम छाँया’ जस्तै हुन गयो ।

