Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्यालेन्टाइन बिशेष : अभिनेत्री झरना र निर्माता सुनिलको कस्तो सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2014/02/14

नेपाली फिल्म क्षेत्रमा सम्बन्धमा रहेको भन्दा सम्बन्ध तोडिएको बैवाहिक जोडीको बाहुल्यता छ । व्यक्तिगत अधिकारको वकालत गर्दै खुला बन्दै गइरहेको नेपाली समाज भित्रको एउटा पाटो फिल्म क्षेत्रमा केही उदाहरणीय बैवाहिक जोडी पनि छन् जसको चर्चा गर्न लायक रहन्छ । नेपाली समाजमा ठुलै प्रभाव छोड्दै गएको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस (फेव्रुअरी १४) अवसर पारेर फिल्मखबरले नेपाली रजतपटमा विगत १७ बर्षदेखि टिकिरहेको झरना थापा र सुनिल कुमार थापाको जोडीसँग फिल्मीखबरकर्मी उत्सव रसाइलीले बिशेष कुराकानी गरेका छन् ।

 

‘सुनिलजी र ममा विश्वास, बुझाई र माया बराबर छ,’ नयाँ बानेश्वरको एउटा क्याफेमा अभिनेत्री झरना थापा आफ्नो जोडी टिकिरहनुको कारण बारे बोल्दै थिईन् । तपाईको यो जोडी टुट्नेहरुको तालिकामा त पर्न आउँदैन नि ! भन्ने जिज्ञासामा झरनाले हाँस्दै भनिन्- ‘आउँदैन, ढुक्क हुनुस् । हामी एक अर्काप्रति इमान्दार छौं । अञ्जान र आवेगमा भएका गल्तीलाई हामी नदोहोर्याउने गरी एक अर्काप्रति क्षमा माग्छौं । हामी बिच विवाद नहुने हैन तर हामी सम्हालिन्छौं ।’

 

फिल्म क्षेत्रकै उदाहरणीय जोडीबिच पनि गल्ती ? आश्चर्य प्रकट गरियो । ‘मानवीय स्वभाव हो, गल्ती हुनु स्वभाविक हो जस्तो लाग्छ,’ पती थापा आफ्नो गल्तीको ढाकछोप गर्नतिर लागे । उनले भने- ‘कुनै स्त्रीसँगको सम्बन्धका कारण झरना र म बिच खटपट भएको थियो ।’ फिल्म क्षेत्रकै एक स्त्रीसँगको सम्बन्धका कारण निर्माता सुनिल कुमार थापा मिडियामा छाएका थिए ।

 

अभिनेत्री झरना थापाले केही मिडियामा बैवाहिक सम्बन्ध टुङ्ग्याउने भनेर समेत पतीप्रति आक्रोश व्यक्त गरेकी थिइन् । धमिलिएको सम्बन्ध कसरी विस्तार भयो त ? झरना सुनाउँछिन्- ‘गल्तीलाई कारण बनाएर मैंले सुनिल जीलाई मात्रै छोड्नु पर्ने थिएन । १७ बर्षदेखि बस्दै आएको घर छोड्नु पथ्र्यो । घरमा भएकी मेरी छोरी र अन्य सदस्यलाई छोड्नु पथ्र्यो । परिवार, परिवारका सदस्य, समाज र सम्बन्ध हेरेर मैंले उहाँलाई छोड्न सकिन ।’ सुनिल थप्छन्, ‘मैंले झरनासँग यस्ता गल्ती नदोहोर्‍याउने कसम खाएँ । मेरो यो कसम बाँचुञ्जेल भुल्ने छैन ।’

 

दयाराम दाहाल निर्देशित ‘दाइजो’ फिल्मबाट नेपाली फिल्मको अभिनय यात्रामा प्रवेश गरेकी झरनाले एक सय बढी फिल्ममा अभिनय गर्ने अवसर पाइन् । उनका दर्जन बढी फिल्म व्यावसायिक रुपमा सफल छन् । रोनाधोनामा बढी रुचाइने बढी रुचाइएकी झरनाले हरेक प्रकारका भूमिका निभाएकी छिन् । एउटा पुरुषको सफलतामा महिलाको हात जोडिने नेपाली उखानको विपरीत छन् थापा जोडी ।

 

झरनाको सफलतामा प्रत्यक्ष जोडिने सुनिल क्रेडिट एक्लै लिएर दम्भ प्रस्तुत गर्दैनन् । भन्छन्, ‘मेरो कारणले भन्दा पनि उनमा भएको क्षमता, निर्माता तथा निर्देशकको विश्वास र दर्शकको मायाले उनी आफ्नो क्षेत्रमा सफल भएकी हुन् ।’ ‘एक रथका दुई पाङ्ग्रा’ भन्ने उखानमा भने पती थापालाई विश्वास लाग्छ । भन्छन्, 'झरना बिना म अधुरो, म बिना झरना अधुरो ।'

 

तीन महिनाको प्रेमपछि भागी बिवाह गरेका झरना र सुनिल मिलेर आधा दर्जन फिल्म निर्माण गरे । पछिल्लो पटक निर्माण गरेको ‘फेसबुक’ बाहेक अधिकांश फिल्म व्यावसायिक रुपमा सफल छन् । सुनिल भन्छन्, ‘म झरनाको लागि फिल्म बनाउँदिनथें । मेरो फिल्मका निर्देशकले झरनालाई कुशल कलाकारको रुपमा छान्थें ।’

 

सुनिलको यस्तो अभिव्यक्तिलाई मद्दत पुर्याउने गरी झरनाले पहिलो होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर’ मा मुख्य हिरोइनमा पक्का हुने क्रमलाई सम्झिइन्, ‘त्यो फिल्ममा निरुता सिंह या जल शाहलाई मुख्य हिरोइनको रुपमा लिने कुरा भैरहेको थियो । निर्देशक शिव रेग्मी र निर्माता पतीले मलाई सहायक भूमिकामा खेलाउने कुरा भैरहेको थियो । तर छायाँकन गर्ने तीन पुर्व म नै मुख्य हिरोइनको रुपमा पक्का भएँ । खुसीले गद् गद् मात्र भईन केहि डराएँ पनि ।

 

श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री थापाको मुख्य भूमिका रहेको फिल्म व्यावसायिक रुपमा सफल मात्रै भएन । फिल्म क्षेत्रमा झरनाको अभिनयको ढोका खोलिदियो । झरना भन्छिन्, 'सायद त्यहाँ पनि हाम्रो सम्बन्धले काम गरेको थियो । सुरुमा म फिल्मको हिरोइन पक्का हुंदा दोमन हुनु भएको उहाँले छायाँकन ताका निकै सहयोग गर्नुभयो । निर्देशक शिव रेग्मीले मेरो अभिनयमा निखारता ल्याउन निकै समय खर्चिनु भयो ।’


झरना सम्झिन्छिन्, ‘नेपालमा ससुराको निधन भयो । म कार्यक्रमको लागि लण्डन थिएँ । आयोजकसँग ४५ दिन बस्ने सम्झौता भएको थियो । मलाई आप्त पर्यो । ससुराको निधनमा पनि बिदेशमा नाचेर बसी भनेर कुरा काट्लान भन्ने अर्को चिन्ता हुन थाल्यो ।’ त्यतीबेला के गर्नुभयो ? अप्ठ्यारो परिस्थितिमा पतिले गरेको सहयोगलाई झरनाले मनैदेखि धन्यावाद दिदैं भनिन्, ‘उहाँले मलाई कुनै चिन्ता नलिनु भनेर खबर गर्नुभयो । परिवारका सदस्यलाई पनि मेरो बाध्यता बारे बुझाउनु भएछ ।’

 

सेलिब्रेटी त्यसमा पनि हिरोइन । मिडियामा अनेक खालका समाचार छापिन्छन् । मिडियामा छापिएको समाचारकै भरमा धेरै कलाकारको बिछोडको बाटो अपनाएका छन् । मिडियामा आउने आफ्नी हिरोइन श्रीमतीको कुनै पनि समाचार तथा गसिपले आफुमा नकारात्मक असर नगरेको सुनिल सुनाउँछन् । उनी भन्छन्, ‘सुरुमा मेरो साथीहरुले श्रीमती हिरोसँग नाच्दा तँलाई रिस उठ्दैन भन्थें । सबै नाटक हो भनेर मेरा साथीहरुलाई म सम्झाउँथे । म अरुको पछाडी कहिल्यै लागिन् । निर्माता भएकाले मैले फिल्म क्षेत्र बुझेको छु ।’

 

बलिउडमा उदारहणमा रहेको अमिताभ वच्चन र जया वच्चनको वृद्ध जोडी अभिनेत्री झरना थापालाई औधी मन पर्छ । रामकृष्ण ढकाल र लता मंगेश्वले गाएको गीतलाई झल्को दिनेगरी झरना भन्छिन्, ‘सुनिल र मेरो जोडी बाँचुञ्जेलीलाई, बाँचुञ्जेलीलाई......!