Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`पपकर्न`ले फिल्म वितरण गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/02/13

नेपाली फिल्म नगरीमा फिल्म निर्माणको हैन अब वितरण कम्पनीको बाढी आएको छ । लाग्छ यहाँ फिल्म भन्दा धेरै वितरक र वितरण कम्पनी छन् । फिल्म वितरण कम्पनी र व्यक्तिहरूको भिडमा थपिएको छ, पपकर्न पिक्चर्स प्राली ।

 

नेपाली फिल्म निर्माणमा व्यवसायिक रूपमा लागेका १० जना फिल्मकर्मी मिलेर फिल्म वितरण कम्पनी खोलेका हुन् । बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै माधव वाग्ले, अर्जुन कुमार, प्रचण्डमान श्रेष्ठ, निश्चल बस्नेत, दिपेन्द्र के खनाल, आशिफ शाह, मनोज पण्डित, रविन्द्र सिंह बाँनिया, टेकेन खड्का र विश्व गौचनको सहकार्य रहेको पपकर्न पिक्चर्स प्राली आफ्ना योजना र उद्देश्य सार्वजनिक गर्‍यो ।

 

फिल्मको चरित्र अनुसारको बजार निर्धारण गरी त्यसको बजारिकरण योजना तय तथा कार्य गर्ने, फिल्मको जेनरलाई आधार बनाएर दर्शकलाई सही सूचना सम्प्रेषण गरी फिल्मप्रति उत्सकुता श्रृजना गर्ने, फिल्मको प्रदर्शन प्राविधिक रुपमै गुणस्तरीय गर्ने, फिल्मको व्यवसायिक उपलब्धीको बारेमा निर्मातालाई सूचना प्रभावकारी ढंगले उपलब्ध गराउनु, राज्यलाई कर सही तरिकाले बुझाउँदै फिल्म निर्मातालाई आर्थिक लाभांस पारदर्शी तरिकाले उपलब्ध गराउने, फिल्म निर्माणको बेलैदेखि निर्माणकर्तासँग संयोजन गरी फिल्मलाई आवश्यकता अनुसारको 'कन्सल्टेन्सी' उपलब्ध गराउने जस्ता उद्देश्य यो कम्पनीको छ ।

 

 

'झोले' फिल्मलाई काठमाण्डौ उपत्यकामा वितरण गरेर आफ्नो कार्यको थालनी गर्न लागेको पपकर्न फिक्चर्सले 'फिटकिरी', 'कबड्डी', 'मिसन पैसा रिलोडेड' र 'टलकजंग भर्सेस टुल्के'लाई वितरण गर्नेछ । त्यसपश्चात फिल्मको क्वालिटी हेरेर अन्य फिल्म वितरणको जिम्मा लिने कम्पनीले जानकारी गरायो ।

 

कार्यक्रममा बोल्दै कम्पनीका सदस्य मध्येका एक मनोज पण्डितले निर्माताहरूको सुरक्षाका लागि कम्पनी स्थापना गरेको बताए । वितरणमा आफूहरू सुरक्षित हुन नसकेको भन्दै मनोजले नेपाली फिल्ममा कमजोर देखिएको वितरण प्रणालीलाई मजबुत बनाउने दाबी गरे । उनले राजनीति गर्न नभएर निर्माताको हकहितका लागि र निर्माताको लगानी सुरक्षित गर्नका लागि कम्पनी खोलेको बताए ।

 

यस्तै अर्का सदस्य अर्जुन कुमारले हलसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले भने- 'हलमाथी प्रहार गर्ने हाम्रो उद्देश्य हैन ।' हल सञ्चालक र निर्माताको दुरी कम गर्न अगाडी बढेको अर्का निर्माता माधव वाग्लेको भनाई थियो । निर्देशक प्रचण्डमान श्रेष्ठले बिदेशी फिल्मको वितरण नगर्ने तर नेपाली फिल्मको बिदेशी बजार खोज्ने बताए ।