सबैको चासोमा रहने राजेश हमाल आफ्नो चासोका बारेमा कमै बोल्छन् । अझ प्रेम र महिलासँगको सम्बन्धको बारेमा पटक्कै खुल्न मान्दैनन् । अभिनेता हमालको लभ अफएरका बारेमा धेरै टिकाटिप्पणी भए । हमालले न ति बारेमा खुलेर बोले न खण्डन नै गरे ।
आजभोलि हमालको यो बानी फेरिएको छ । उनी आजभोलि प्रेम र सम्बन्धका बारेमा खुलेर नै कुरा गर्छन् । भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामा प्रेमका सम्बन्धमा कुराकानी गर्ने प्रस्तावलाई स्वीकार्नु हमालको आफैंमा फेरिएको बानीको उदाहरण हो । सबैलाई थाहा छ राजेश हमाल विगत ६ वर्षदेखि मधु भटराईसँगको प्रेममा चुर्लुम्म डुबेका छन् । फिल्मीखबरसँगको भेटमा हमाल पहिलो पटक मधु भट्टराईसँगको प्रेम बारेमा खुलेर बोले ।
हमाललाई खोज्दै बालाजुको ल्याब पुग्दा उनी हँसिया फिल्मका लागि डबिंग गर्दै थिए । तर भ्यालेन्टाइनको रौनकले छोपेको काठमाडौंमा राजेश पनि यसबाट अछुतो थिएनन् । प्रेमका बारेमा गफ गर्ने भनेपछि उनले समय मिलाए र दिल खोलेर फिल्मीखबरसँग आफ्नो प्रेमका अनभूति बाँडे ।
तपाईंकालागि भ्यालेन्टाइन के हो ?
एउटा 'क्लि'से प्रश्नबाट वार्ताको थालनी भयो । हमाल हल्का हाँसे । क्षणभर मौनता छायो । मैंले अनुमान गरें मेरो उत्तरका लागि उनी कुनै पन्च लाइनको जोहो गर्दैछन् । म सही थिएँ ।
'भ्यालेन्टाइन प्रेमको लाइसेन्स रिन्यु गर्ने दिन हो । अझ भनुँ, एक वर्षको लागि ब्याट्री चार्ज गर्ने दिन हो ।'
अब हाँस्ने पालो मेरो थियो । म थोरै मुस्कुराएँ । तर प्रेममा बोल्न उनले आफूलाई चार्ज गरिसकेका थिए । थपे , 'यो एउटा उत्सव हो । द्धन्द्ध हत्या हिंसा र मनमुटावले ग्रस्त विश्वमा प्रेम दिवसको आफ्नै स्थान छ । एकदिन भएपनि आफ्ना गुम्सिएका भावनालाई व्यक्त गर्ने अवसर हो, भ्यालेन्टाइन ।'
भनिन्छ, मान्छे प्रेममा अन्धो हुन्छ र सँगसँगै बहिरो पनि । मान्छे प्रेममा बच्चा पनि हुन्छ । र बच्चामै प्रेम पनि हुन सक्छ । हमालसँग यसका अनुभव छ । उनले १४ वर्षमै प्रेमको अनुभव हासिल गरिसकेका थिए । यो उनको भ्यालेन्टाइन डेसँगको पहिलो साक्षात्कार पनि थियो ।
हमाल १४ वर्षका थिए र युरोपको कुनै प्रतिष्ठित स्कुलमा पढ्थे । स्कुलमै पढ्ने कुनै केटीको आकर्षणमा रहेका हमाल प्रेमको दीप प्रज्जवलन गर्न चाहान्थे । उनलाई डर थियो कतै दीप जल्नु अघि नै ननिभोस् । उनी सम्हालिएर बसे । भ्यालेन्टाइन डेको दिन जब ती केटीले स्वयं 'ग्रिटिंग कार्ड' हमाललाई दिंदै 'ह्याप्पी भ्यालेन्टाइन डे' भनिन् उनी आकाशमा पुगे । उनले पनि 'रेसिप्रोकेट' गरे । उनले 'ग्रिटिंग कार्ड'मा रातो गुलाब थपेर उसरी नै 'ह्याप्पी भ्यालेन्टाइन डे' भने । प्रेमको शक्ति माथि उनको यो पहिलो अनुभव थियो । तर, उनको यो भ्यालेन्टाइन काँचो साबित भयो ।
यसपछिका भ्यालेन्टाइन खासै स्मरणीय रहनेनन् । कति युवतीसँग प्रेममा परे र कति भ्यालेन्टाइन सेलिब्रेट गरे स्मरण योग्य रहेनन् । तर विगत ६ वर्ष यताका भ्यालेन्टाइन भने उनलाई कण्ठै छन् । किनकी हमाल मधु भट्टराईसँगको प्रेममा चुर्लुम्म डुबेका छन् ।
त्यसो त मधुसँगका हरेक पल उनका लागि भ्यालेन्टाइन डे भन्दा कम छैनन् । हरेक पल मिठा र रोमान्टिक छन् । गहिरो प्रेममा हुँदा मात्र भ्यालेन्टाइन मनाउन रुचाउने हमाल यस वर्षको भ्यालेन्टाइन पनि स्पेशल तरिकाले मनाउने तयारी छन् । तर 'सस्पेन्स'का साथ ।
केही बेरअघि सम्म 'कन्सस' भएर उत्तर दिईरहेका हमाल बिस्तारै अनौपचारिक बन्न थालेका थिए । अझ मधुको विषयमा प्रवेश गर्नासाथ उनको मुहारमा परिवर्तन देखियो । ५० वर्ष पार गरिसकेका हमालको अनुहारमा घरिघरि लज्जाका भाव दौडिरहेका थिए । खुशी र उत्साह एकसाथ छचल्किरहेको थियो ।
यसपालीको भ्यालेन्टाइन कसरी मनाउने ? यो प्रश्न र्मैले होइन केही दिन अघि मधुले हमाल समक्ष गरेकी रहिछन् । मैंले प्रश्न गर्नै परेन । उनले उत्तर दिए, 'म 'सरप्राइज रोमान्स'मा विश्वास गर्छु । यसपालिको भ्यालेन्टाइन उनका लागि पनि 'सरप्राइज' हुनेछ ।'
मधुले थाहा पाउन बाँकी रहेको 'सरप्राइज' मैंले खोतल्न सक्ने कुरै थिएन । विषयान्तर हुन जरुरी थियो । हरेक दिन सार्वजनिक जीवनमा रहने हमाल मधुसँगको व्यक्तिगत जीवनलाई कसरी 'मेन्टन' गरिरहेका छन् ? किनकी सेलिब्रेटीका सम्बन्ध टुट्ने मुख्य कारण सार्वजनिक र व्यक्तिगत जीवनबीचको जोड घटाऊ नमिल्नु हो ।
'उनलाई खुशी बनाउन धेरै कसरत गर्नु पर्दैन,' हमाल फेरि मख्ख देखिए, 'सानो 'जेस्चर'ले पनि उनलाई खुशी बनाउँछ । म त्यही सानो 'जेस्चर'मा गहिरो माया व्यक्त गर्छु । उनी खुशी हुन्छिन् ।'
तर, हमालले आफू स्वार्थी रहेको स्विकारे । उनी मधुलाई जति माया गर्छन् त्यो भन्दा बढी माया उनीबाट आश गर्छन् । पाएका पनि छन् । त्यसैले त होला उनीहरुको प्रेम सफल भएको ।
हमालले मधुका लागि प्रेम साँचेर राखेका छन् । उनले भने, 'राजेश हमालको माया मधु भट्टराईले पाउन अझै बाँकी छ । विवाह पछि उनलाई अझ धेरै प्रेम गर्नेछु ।' मधुप्रति व्यक्त उनका लवजले हमाल मधुलाई अथाह प्रेम गर्छन् । सजिलै बुझियो । तर हामीले नबुझेको कुरा, किन सार्वजनिक भईनन् मधु । उनले किन मधुलाई 'एन्टिक' बनाएर राखेका छन् ?
मेरा यि प्रश्नमा परिपक्व राजेश हमालको परिपक्व उत्तर आयो, 'प्रेम प्रगाढ हुनलाई समय खर्चिनु पर्छ । प्रेम परिपक्व बनाउन र दुबैको आत्मविश्वास बढाउन मलाई ६ वर्ष लाग्यो । बल्ल मेरो प्रेम परिपक्व भएको छ । हतारमा निर्णय गरेर पछुताउन चाहन्थिन । अब सही समय आएको छ । चाँडै तपाईंहरुको धैर्यताको अन्त्य हुनेछ ।'
जाडोका लुगा नपटिंदै राजेश हमालले विवाह गर्ने उद्घोष फेल खाएको छ । सबै शुभचिन्तकको एउटै प्रश्न छ, विवाह कहिले ? फागुनको लगन त टर्यो । वैशाखमा उनको घरमा पञ्चेबाजा घन्किएला त ? हमालले छोटो उत्तर दिए, 'विवाह, लेटर द वेटर ।'

