मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म 'आवरण'को गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की एकछिन रमाउन चाहेको उल्लेख छ । फिल्ममा उनी भड्किएको आत्माको रूपमा अभिनय गरेकी छिन् ।
प्रियंका कार्की मुख्य भूमिकामा प्रस्तुत भएको फिल्मलाई 'अपवाद' निर्देशक सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंकाको साथमा निर्देशक नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय छ ।
फिल्ममा अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी छ । फिल्मलाई सुसन प्रजापति र हरी हुमागाइँले खिचेका हुन् । फिल्ममा बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत छ । अनिल योञ्जनले लेखेको यो फिल्म जेठ २ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ ।

