अभिनेता सौगात मल्ल र अभिनेत्री सरिता गिरीबिच थाहै नभई माया बस्यो । पत्तै नभई लाएको माया ९ बर्षपछि सहमतीमा टुट्यो । अनामनगरस्थित मण्डला नाटक घरको मैदानमा अभिनेत्री गिरीले फिल्मीखबरकर्मी उत्सव रसाइलीसँग मायाको पोको फुकाइन् ।
माया त यस्तो पो ! ‘चार बर्ष भयो भ्यालेन्टाइन डे खल्लो भएको', सरिताले सुनाइन्- ‘यो बर्षको फेव्रुअरी १४ लाई मण्डला नाटक घरमा ‘मितज्यु’ नाटकको अन्तिम मञ्चन मिति पारेर मनाइन्छ ।’ सौगातसँग प्रेम रहंदाका हरेक भ्यालेन्टाइन डे सरिताका लागि बिशेष हुन्थें । उनी सम्झिन्छिन्- ‘गुरुकुलको होस्टेलमा बस्दा हरेक भ्यालेन्टाइन डेमा म उसको कोठामा फुलका गुच्छा र चकलेट राखिदिन्थें । सौगात पनि त्यसै गर्थे । हामी एकअर्कालाई सरप्राईज गिफ्टा दिन्थ्यौं ।’
कालो चस्मा लगाएकाले उनको आँखाबाट आँसु खसे या खसेनन् ? कुनै पत्तो भएन । तर, उनले बोलिरहको आवाजमा आँसु मिसिएको थियो । उनले गला अवरुद्ध पार्दै भनिन्- ‘अहिले त विगत सम्झेर आफैं सरप्राइज हुन्छु ।’ विगत हुने प्रेम कसरी बस्यो त ? जिज्ञासा मेटाउँदै उनले भनिन्- ‘एसएलसी दिए लगत्तै म अभिनय सिक्न गुरु विरेन्द्र हमालको एमआर थिएटरमा पुगें । डरलाग्दो शरीर भएका सौगातसँग पनि त्यही भेट भयो ।'
डर लाग्ने सौगात पछि मिल्ने साथी भए । 'ऊ निकै कम बोल्ने । सँगै नाटक गर्दा गर्दै हामी एकअर्कासँग नजिक भैसकेका थियौं,’ सरिता थोरै रोमान्टिक देखिईन्- 'नाटक सिक्दा सुरु भएको प्रेम गुरुकुल होस्टलसम्म पुग्दा गाढा बन्यो ।' करिब दश बर्ष गुरुकुलमा बस्दा सौगात र सरिताले थुप्रै रमाईला पल बिताए । सरिताका हरेक ‘च्वाइस’ सौगातका लागि फिट हुन्थें । उनी भन्छिन्- 'अहिले त उनी आफ्नै च्वाईसमा लाउँछन् ।’ 
गुरुकुलमा छंदा सौगात र सरिताले दर्जन बढी नाटकमा जोडी भएर अभिनय गरे । सडक तथा स्टेजका नाटमा जमेको सौगात र सरिताको जोडी वास्तविक जीवनमा भने जम्न सकेन । गुरुकुल बन्द हुनु अघि नै सौगात र सरिताको प्रेम बन्द भयो । जोडी किन टुट्यो ? सरिता व्यवहारिक जस्तो सुनिईन्- ‘झगडा भएर, मन नमिलेर हामी छुट्टिएका हैनौं । परिवारलाई खुसी राख्न हामीले मायाको गन्तव्य फरक गरेका हौं ।’
परिवार त्यागेर आफ्नो मायाको संसार बसाल्ने धेरै उदाहरण छन् । तर, सौगात र सरिताले परिवारको खुसीको लागि एक अर्काको बाटोबाट छुट्टिएर आफ्नो प्रेममा बलिदानी दिए । किन त ? उनको उत्तर छ- ‘परिवारलाई त्यागेर बनाएको संसार भत्किएर भोली अर्को उदाहरण बन्न हामीलाई मन लागेन । दुई बर्षको छलफल पछि हामीले छुट्टिने निर्णय लिएका हौं ।’
प्रेमीकाबाट सरिता पूर्व प्रेमीका भएकी छिन् । तर उनी आफुलाई पूर्व प्रेमिका भन्न रुचाउँदिनन् । आफ्नो प्रेम बारे उनी भन्छिन्- ‘हाम्रो गन्तव्य मात्रै फरक भएको हो । माया न पूरानो हुन्छ न ओइलाउँछ । यति हो कुनै बेला माया सरल बन्छ कुनै बेला जटिल बनेर आइदिन्छ ।’
सर्वाधिक व्यापार गर्न सफल फिल्म ‘लुट’ मा सौगातले निभाएको ‘हाकु काले’ भूमिका हिट बन्यो । सौगात रंगमञ्चबाट फिचर फिल्ममा व्यस्त बन्दै गए । यता सौगात र सरिताको माया छुट्टिएर पूरानो बन्दै गैरहेको छ । एक अर्काका मायालु नभएपनि सौगात र सरिताबिच ‘राम्रो साथी’को सम्बन्ध भने कायमै छ । ‘एक्स लभरको के मतलब भन्दै अन्य प्रेमीसँगको जोडी देख्दा रिसाउने पुस्ता भन्दा सौगात र सरिताको ‘ब्रेकअप रिलेसन’ भिन्न छ ।
‘सौगात जोसँग हिडोस् मलाई कुनै डाहा छैन । सम्बन्धमा बस्दा त एकअर्काबिच कहिल्यै झगडा परेन, अहिले डाहा गरेर के फाइदा ?', सरिता केहि कठोर बनिन् । ‘अँगेनोको दाउरा पनि झोसेपछि मात्रै दन्केर बल्छ’ भने झैं माया पनि झगडा भयो भने गाढा हुन्छ भन्ने जमातको कमी छैन । सौगात र सरिताले झगडा नै नहुने कस्तो माया बसाए त ? सरिता हाँस्दै भन्छिन्- 'त्यही झगडा नभएर त अहिले आएर मार्यो नि !’

