सम्पादन कार्य सकिएर डबिङमा व्यस्त रहेका निर्देशक नवल नेपालले 'लज्जा'लाई महिलाहरूले दैनिक जीवनमा भोग्दै आएको समस्याको प्रतिबिम्वको रूपमा व्याख्या गरे । 'लज्जा' भन्ने बित्तिकै लाज भन्ने बुझाईलाई उनले नारीको इज्जत, अस्मितासँग जोडे ।
बिहान घरबाट निस्केपछि साँझ घर फर्कदाँसम्म नारीले भोग्नु परेका बाधा अड्चनलाई पर्दामा देखाउन खोजेको नवलले बताए । उनले फिल्मको कथा भन्ने शैली चलिआएको परम्परा भन्दा केहि भिन्न रहेको बताए ।
छबिराज ओझा प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । फिल्मको शिर्षक अनुसार शिल्पा केन्द्रिय पात्र हुन् । यस्तै फिल्ममा निराजन लुईटेल, मिथिला शर्मा, किरण केसी, कमलमणी नेपाल लगायतको अभिनय छ ।
प्राय: नयाँ बर्ष र दशैंमा फिल्म हल कब्जा गर्ने निर्माताको रूपमा चिनिएका छबिराज ओझाले आफ्नो पछिल्लो फिल्म 'लज्जा'को रिलिज मिति तय गरेका छैनन् । तर बुझ्नमा आएअनुसार उनी 'लोफर' जस्तै यो फिल्मलाई पनि नयाँ बर्ष र दशैंको छेकोमा रिलिज नगर्ने योजनामा छन् ।
'लोफर'बाट सफलता पाउन नसकेका छबिले 'लज्जा'लाई उपयुक्त समय हेरेर रिलिज गर्ने तयारी गर्दैछन् । 'यो हप्ता भित्रमा रिलिज मिति टुंगो लाग्छ,' छबिले भने- 'धेरै सोच विचार गरेर फिल्म रिलिज गर्नुपर्ने अवस्था छ ।' 'लोफर'बाट बेहोरेको घाटा 'लज्जा'ले परिपूर्ती गर्ला ? रिलिजसम्म कुरौं ।

