एक समय थियो नेपाली फिल्ममा कलाकारले मुख बिगार्दा, केराको बोक्रामा चिप्लिएर लड्दा, दोहोरो अर्थ लाग्ने संवाद बोल्दा हलमा दर्शक पेट मिचेर हाँस्थे । नियमित फिल्म हेर्ने दर्शकका लागि हँसाउने नेपाली फिल्मका यस्ता फर्मुला पुराना भैसकेका छन् ।
‘छ एकान छ’ फिल्म कमेडी भएर हैन कमेडीका स्टार कलाकार भएर चल्यो । देश तथा विदेशका हँसाउने कार्यक्रममा सर्वाधिक व्यस्त मानिने 'तक्मे बुढा' उर्फ विल्सन विक्रम राईको कमेडी फिल्म ‘प्रोड्युसर’ले हलमा गन्न सक्ने मात्रै दर्शक पायो । पेट मिचिमिचि हँसाउने भनेर प्रचार गरिएको ‘प्रोड्युसर’ ले प्रोड्युसरको लगानी डुबाएको बताइन्छ ।
हिट पछि फल्प भैरहेको कमेडी फिल्मको बजारमा अर्को कमेडी फिल्म ‘झोले’ यही फागनु ९ गते अल नेपाल प्रदर्शन हुंदैछ । प्रोमो र प्रचार शैलीले यो फिल्मलाई प्रतिक्षित फिल्मको लिस्टमा राखिएको छ । बजारमा कि त महंगो कमेडी बिक्छ कि त कमेडी स्टार बिक्छन् । ‘झोले’ मा कमेडी स्टार छैनन् । बजारका चल्तापुर्ता कलाकार दयाहाङ राई, प्रियंका कार्की र संघर्षरत कलाकार ए.गुरुङको ‘झोले’ मा मुख्य भूमिका रहेको छ ।
‘झोले’ को कमेडी कस्तो छ ? फागुन ९ सम्म प्रतिक्षा गर्नै पर्ला । तर, निर्देशक दिपेन्द्र के..खनाल भने आफ्नो फिल्ममा सस्तो कमेडी नरहेको बताएका छन् । फिल्मको प्रचार प्रसारमा व्यस्त रहेका निर्देशक खनाल भन्छन्-‘हाम्रो फिल्ममा कथा अनुसारको कमेडी छ । दर्शकलाई हँसाउन बेकामे कमेडी प्रयोग गरेका छैनौं ।’ कलाकारको प्रस्तुती, कथा शैली र व्यापक प्रचारले ‘झोले’ हेर्न हलमा दर्शकको घुइँचो लाग्ने निर्देशक खनालको आशा छ ।

