व्यापारिक रूपमा सफल हुन नसकेपनि समिक्षात्मक रूपमा सफलता पाएको फिल्म 'मोक्ष' हेर्न तीन जना दर्शकका लागि कमलपोखरीस्थित बिग मुभिजको एक शो पूरै बुक गरिएको छ ।
मंगलबार साँझ ६:१५ बजेका लागि व्यवसायी गृहेन्द्र घिमिरेले बिग मुभिजको सबैभन्दा ठूलो हल बुक गरेका हुन् । फिल्मकी अभिनेत्री बेनिशा हमालसँग फिल्म हेर्ने इच्छा व्यक्त गर्दै घिमिरेले शो बुक गरेको बुझिएको छ । बेनिशा र गृहेन्द्रसँगै उनका साथी रूपक घिमिरेले पनि 'मोक्ष' हेरेको खबर प्राप्त भएको छ ।
सोमबार चितवनमा आयोजना भएको 'चितवन आइडल'मा अतिथीको रूपमा सहभागी हुन पुगेकी बेनिशासँग गृहेन्द्रको भेट सोही कार्यक्रममा भएको हो । सिटी सेन्टरमा रहेको एप्पल स्टोरका सञ्चालक समेत रहेका गृहेन्द्र उक्त कार्यक्रमको प्रायोजक हुन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गृहेन्द्रको आजै फिल्म हेर्ने इच्छा भएको तर साँझको शो कुनै हलमा नभएपछि आफ्नो फिल्म हेर्ने इच्छा शक्तिलाई मर्न नदिन उनले ६:१५को शो बुक गरेका हुन् ।

