स्वर्गीय निर्देशक शिव रेग्मीको सम्झनामा 'शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार'को स्थापना गरिएको छ । आगामी चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'मनले मनलाई छुन्छ'को निर्माण युनिटले हरेक बर्ष १० हजार राशीको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
स्व रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्झनामा फिल्म निर्माण कम्पनी मिराकल मिडिया प्रालीले एक लाख रूपैयाँको अक्षयकोषको स्थापना गरेको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि दिईएको जानकारी अनुसार 'शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार' नेपाल चलचित्र निर्माता संघको रहोबरमा रहेर प्रदान गरिनेछ । नेपाली फिल्म क्षेत्रमा काम गर्ने जो कोही कुशल फिल्मकर्मी तथा सञ्चारकर्मी मध्ये हरेक बर्ष एक जनालाई उक्त पुरस्कार प्रदान गरिने बताईएको छ ।
स्व रेग्मीको अन्तिम फिल्म भएकाले आगामी चैत्र २८ गते 'मनले मनलाई छुन्छ' मात्र रिलिज गरिदिन पत्रकार भेटघाट कार्यक्रममा आग्रह समेत गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले व्यवहारिक र भावनात्मक पक्षलाई पहिलो प्राथमिकतामा राखेर फिल्म नजुधाईदिन आग्रह गरे । सोही मितीमा रिलिज हुन लागेका अन्य दुई फिल्म 'नाइ नभन्नु ल २' र 'आधी बाटो'का निर्माताप्रति लक्षित गर्दै राईले भने- 'व्यवसायिक पक्षलाई गौण बनाएर यो फिल्मलाई सिङ्गल रिलिजको अवसर प्रदान गरिदिन बिनम्र अनुरोध गर्दछु ।'



यस्तै निर्देशक रेग्मीकी धर्मपत्नी ज्ञानुले पनि शिव रेग्मीको सम्मानका लागि फिल्म नजुधाइदिन आग्रह गरिन् । यस्तै उनले पुरस्कार स्थापनाले शिव रेग्मीलाई बर्षमा एक पटक भएपनि सम्झने वातावरणको सिर्जना गरिदिएकोमा फिल्मका निर्माताप्रति आभार प्रकट गरिन् । उनले शिवको राम्रो फिल्म बनाउने सपना यो फिल्ममा रहेको समेत बताउँदै फिल्म अत्यन्त राम्रो बनेको बताईन् ।
यता फिल्मकी अभिनेत्री गरिमा पन्तले शिव रेग्मीलाई सम्झदै भनिन्- 'उहाँले आफन्त पछिको मलाई मन पर्ने फिल्म 'मनले मनलाई छुन्छ' हो भन्नु भएको थियो । साँच्चिकै यो फिल्म शिव सरको उत्कृष्ट मध्येको एक हो ।' गरिमाले फिल्मले हरेकको मनलाई छुने विश्वास समेत लिईन् । यता अभिनेता समेत रहेका निर्माता बिरेन श्रेष्ठले मनैदेखि बनाएको पारिवारिक फिल्म हुनाले राम्रो बनेको बताए ।



सुनिल सिटौलाको प्रस्तुतीमा बिरेन श्रेष्ठले निर्माण गरेको 'मनले मनलाई छुन्छ' को कथा निर्देशक रेग्मीले लेखेका हुन् । फिल्ममा बिरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, केशब भट्टराई, मिथिला शर्मा, सिर्जना बस्नेत लगायतले अभिनय गरेका छन् । फिल्ममा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्धन्दनिर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।

