Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`हार्न जानेको छैन` : मनोज आरसी

रेम बिक, पोखरा, 2014/02/11

नेपालीमा एउटा उखान छ, ‘बरु गाँजा चरेश खानु, हरेश चैँ नखानु’ । यहि उखानलाई चरितार्थ गर्दैछन् नायक मनोज आरसीले । नेपाली फिल्म उद्योगमा प्रवेश गरेको १२ वर्ष कटिसक्दा पनि उनले सोचेजस्तो प्रतिफल पाउन सकेका छैनन् । तर पनि उनले हरेश खाएका छैनन् र निरन्तर संघर्ष गरिरहेका छन् ।

 

एक महिने ‘हमजायगा’को सुटिङ सकाएर पोखरा घुम्न निस्किएका यी नायकले पोखरामा भएको एक भेटमा भने–‘मैले केहि आशा गरेर नै यो फिल्डमा हात हालेको हुँ, शुरुमा छिर्दा जुन खालको प्यासन लिएर छिरेको थिएँ, त्यो अझै यथावत नै छ ।’ ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’ भनेजस्तै उनलाई पनि आफ्नो पछिल्लो फिल्म ‘मधुमास’ले मासको माझमा चिनिने मौका दियो । भन्छन्–‘व्यक्तिगत रुपमा 'मधुमास' फिल्म नै मेरो लागि टर्निङ प्वाईन्छ मान्छु । अब केहि राम्रो हुने संकेत मैले पाएको छु ।’

 

‘दिन सबैको आउँछ’ भन्ने मान्यता लिएर अगाडि बढेका आरसीले संघर्ष जारी रहेको बताए । ‘कहिले काहि केहि कुराहरुले गर्दा 'फ्रस्ट्रेट' हुन्छु,’ उनले भने–‘तर मैले हार्न जानेको छैन ।’ फिल्ममा उनको 'प्यासन' यहाँसम्म छ कि फिल्ममा असर पर्छ भनेर उनले अहिलेसम्म वैकल्पिक कुनै पेशा गरेका छैनन् । भन्छन्–‘अरु पेशा गर्दा मेरो दिमाग 'डाईभर्ट' हुनसक्छ, त्यसैले फिल्मबाहेक अरु सोचेको छैन ।’

 

फिल्ममा खेल्ने भुत चढेसँगै १४ वर्ष अगाडि उनी पुख्र्यौली गाउँ जाजरकोट छोडेर काठमाण्डौ हानिएका थिए । ‘छोराले काठमाण्डौ छाड्ने नदेखिएपछि पछि बुवाआमा पनि काठमाण्डौ तिरै झर्नुभयो,’ आरसीले सुनाए–‘जे होस्, काठमाण्डौमा घर भएपछि भाडामा बस्नेलाई जस्तो गाह्रो भने छैन ।’ उनले पारिवारीक सपोर्ट निकै राम्रो रहेको खुलाए ।

 

रिलको पालामा फिल्ममा ईन्ट्रि मारेका आरसी नेपाली फिल्ममा डिजिटल प्रविधि भित्रिएको पनि धेरै पछि मात्रै केहि चर्चामा आए । १२ वर्षअगाडि ‘विर गणेशमान’मा शहिद गंगालाल श्रेष्ठको भुमिका निभाएर उनले फिल्मी यात्रालाई अगाडि बढाएका थिए । त्यसपछि उनले मनोज पण्डितको निर्देशनमा बनेको फिल्म ‘लक्ष्य’ गरे । त्यसपछि उनी काम विहिन जस्तै बने । फिल्मवालाहरुले उनलाई लिएनन् । त्यो बिचमा फेरी उनले मनोज पण्डितसँगै मिलेर ‘ग्रेटर नेपाल’ डकुमेन्ट्रीको निर्माण गरे । जुन डकुमेन्ट्रीले राम्रो चर्चा पाएको थियो ।

 

धेरै वर्षको ग्यापमा उनले ‘सिमाला’ भन्ने फिल्म गरे । तर यो फिल्मले पनि उनको करिअरलाई उकास्ने कुनै काम गरेन । बरु त्यसपछि आएको सुदर्शन थापा निर्देशित फिल्म ‘मधुमास’ले भने उनलाई धेरै कदम अगाडि हुत्याईदियो । र, अहिले उनी माससम्म पुगेका छन् । 'मधुमास' पछि उनले 'ऋतु'मा काम गरे । तर 'ऋतु'मा गरेको काम उनले सस्पेन्स राख्न चाहे । ‘हमजायगा’ नामक फिल्मको सुटिङ सकाएका आरसीले ‘प्रताप’ भन्ने फिल्ममा अभिनय गर्दैछन् ।

 

अन्तरमुखी स्वभाव हुनु नै आफु मासमा आउन नसक्नुको कारण रहेको उनले खुलाए । ‘तर अहिले मैले बुँझे यहाँ बोल्नेकै पिठो बिक्ने रै’छ, त्यसैले अहिले मैले मुख खोल्न थालेको छु ।’ अगाडीको फिल्मी यात्राको भविष्यवाणि गर्दै आरसीले भने–‘पागल भएर फिल्म लाईनमा लागेको थिएँ, १२ वर्षपछि मेरो पनि दिन आएजस्तो छनक मैले पाएको छु ।’