कृष्ण धारावासीको झोला कृतिमाथि आधारित रहेर निर्माण गरिएको फिल्म ‘झोला’ ले सार्वजनिक प्रदर्शनमा निराशा भोग्नु नपरेको रिपोर्ट प्राप्त भएको छ । एक सय बर्ष पहिले समाजमा जरो गाडेर बसेको सती प्रथाको फिल्मलाई बिशेषगरी बौद्धिक वर्गका दर्शकले चासो दिएर हेरेको पाइएको छ ।
देशका करिब ३३ हलमा प्रदर्शन भैरहेको फिल्मले राम्रै व्यापार गरिरहेको डिसीएनका चिफ म्यानेजर दिपक दङ्गालले दाबी गरे । उनका अनुसार फिल्मले हरेक हलमा दर्शक तान्न सफल भएको छ । ‘झोला’ले हालसम्म कति कलेक्सन गर्यो ? रिपोर्ट प्राप्त भैनसकेको उनले बताए ।
यादव भट्टराई निर्देशित फिल्ममा गरिमा पन्त सती जाने महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् । दर्जन बढी फिल्ममा अभिनय गरेर पनि व्यासायिक रुपमा असफल अभिनेत्रीको ट्याग भिरेकी गरिमालाई ‘झोला’को व्यापारसँगै 'रिभ्यू'ले राहत दिएको छ । झोलामा गरिमाको साथमा लक्ष्मी गिरी, दिपक क्षेत्री लगायतका कलाकारले महत्वपुर्ण भूमिका निभाएका छन् ।

