अभिनेता सुवास थापाको फिल्म ‘बिर्खेलाई चिन्छस्’ को सम्पूर्ण छायाँकन सकिएको छ । अराज केशव निर्देशित यो फिल्मको अन्तिम छायाँकन दोलखास्थित लामवगरमा गरियो ।

पहिलो चरणको सुटिङ सकेर सुवासको फिल्म हिउँ कुर्दै थियो । हिउँका डाँडा खिचेर फिल्म युनिट गत साता राजधानी फर्किइसकेको छ । निर्माता तथा कलाकार सुवास थापाले अश्लेशा ईन्टरटेनमेन्टमा फिल्मको बाँकी दृश्य माथि सम्पादन भैरहेको जानकारी दिए । फिल्म प्रदर्शन हुन कम्तिमा ६ महिना लाग्ने उनले बताए ।
निर्माता तथा कलाकार थापाले भने- ‘प्रचारमा कसरी जाने भनेर हामी छलफल गर्दैछौं । प्रचारलाई व्यापक बनाउने हाम्रो लक्ष्य छ ।’ रंगमञ्चमा जमेका सुवास फिल्म निर्माणमा पनि जम्लान् ? परिक्षा सुरु भएको छ । कमेडी फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा सुवाससँगै सुरेश उप्रेती, संजय कार्की, विनिता खड्का, आयुषा राई लगायतको मुख्य भूमिका छ ।
‘बिर्खेलाई चिन्छस’को विषयवस्तु युवा पहिचानको खोजीमा आधारित छ । वि एण्ड वि प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा निरज कँडेलको क्यामेरा एवं मोहित मुनालको संगीत छ ।

