सामाजिक बिषयबस्तु समेटिएको फिल्म 'कसिङ्गर'को म्याग्दीमा छायांकन सुरु भएको छ । जातिय बिभेदको समस्या र अन्तरजातीय बिवाहको विषय समेटिएको 'कसिङ्गर'को सोमबार म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले एक कार्यक्रमका बीच शुभमुहुर्त गरे ।


'कसिङ्गर'को शुभमुहुर्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सहायक प्रजिअ भण्डारी र स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माले फिल्मले जातिय बिभेद न्युनीकरण र अन्त्य गर्नका लागि समाजमा सकारात्मक सन्देश प्रवाह गराउने विश्वास व्यक्त गरे ।
यसैगरी दलित अधिकारकर्मी टेकबहादुर विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिरकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव सन्तोष गौतमले फिल्मले विद्यमान जातिय छुवाछुतको अन्त्यका लागि प्रभावकारी भुमिका निभाउने र म्याग्दीको संस्कृती एवं भौगोलिक बिबिधताको पनि प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
म्याग्दी निस्कोटका कलाकार राजबिर पटेल निर्माता तथा लक्ष्मण सुनार निर्देशक रहेको फिल्म 'कसिङ्गर'मा रेजीना उप्रेतीको मुख्य भुमिका रहनेछ भने निर्माता पटेल नायकको भुमिकामा देखिनेछन् । यसैगरी कलाकार सुरबिर पण्डीत, शुशिल पोखरेल लगायतको फिल्ममा अभिनय रहने बताइएको छ ।
बेनी, दरवाङ, निस्कोट लगायत म्याग्दीका विभिन्न ठाउँमा सुटिङ गरिने फिल्मको छायांकन हरिनारायण चौधरी र दन्द्ध निर्देशन सुवास नेपालीले गर्ने बताइएको छ । यो फिल्म धौलाश्री फिल्मस प्रालीको व्यानरमा निर्माण हुनेछ ।

