एउटा फिल्मको सफलता कोसँग जोडिन्छ ? निर्देशक, कलाकार, संगीतकार या कथाकार ? नेपाली फिल्म बजारमा यस्ता व्यानर छन् जसले निर्माण गरेका फिल्मको सफलतामा निर्देशक, कलाकार, संगीतकार तथा कथाकार गौण रहन्छन् ।
अभिनेता भुवन केसीको काजोल फिल्मस् र अभिनेत्री रेखा थापाको रेखा फिल्मस् प्रालीसँग निर्देशक, सहायक कलाकार, संगीतकार तथा कथाकार गौण भएर आउँछन् । भुवन केसीको काजोल फिल्मस् प्रालीबाट ‘सुपरस्टार’, ‘करोडपती’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’, 'साथी म तिम्रो' जस्ता फिल्म निर्माण भएका छन् । सफल फिल्मको क्रेडिट सिधै अभिनेता केसीको ब्यानरको पोल्टामा पर्दै आएको छ । यी फिल्मका निर्देशक को को थिए ? सोच्नै पर्ने हुन्छ ।
केही बर्ष पहिले प्रदर्शनमा आएको 'साथी म तिम्रो' ले सोचे अनुरुप व्यापारिक सफलता हात नपारेपछि काजोल फिल्मस् ब्यानरले तत्काल फिल्म निर्माणमा तत्परता देखाएको छैन । दोस्रो संविधान सभामा एमाले पार्टीबाट असफल सभासदको कोटामा परेका भुवनले ‘करोडपती’ को सिक्वेल निर्माण गर्ने तयारी भैरहेको बताउँदै आएका छन् । काजोल फिल्मसमा भुवन केसी नै मुख्य अभिनेता हुनाले पनि निर्देशक तथा अन्य कलाकार गौण रहने गर्दछन् ।
पहिलो फिल्म ‘अजम्बरी नाता’ निर्माण गरेको रेखा फिल्मस् प्रालीले ‘काली’ सम्म दश वटा फिल्म निर्माण गरिसकेको छ । रेखा ब्यानरका अधिकांश फिल्म व्यावसायिक रुपमा सफल छन् । रेखा थापा नै मुख्य भूमिकामा प्रस्तुत हुने फिल्मका निर्देशक तथा अन्य फिल्मका सदस्य छायाँमा पर्ने गरेका छन् । रेखा फिल्मस्ले आउने दशैंमा प्रदर्शन गर्ने गरी ‘हिम्मतवाली’ निर्माण गर्दैछ । जुन फिल्मका निर्देशक श्याम भट्टराई हुन् ।
काजोल र रेखासँगै गोपीकृष्ण मुभिज पनि चिनिएको व्यानर हो । चावहिलमा रहेको गोपीकृष्ण हल सञ्चालन समेत गर्दै आएको यो व्यानरले थुप्रै फिल्म नेपाली फिल्म क्षेत्रलाई दिएको छ । यो व्यानरमा केहि फिल्म सफल भए भने केहि असफल छन् । तरपनि नेपाली फिल्मकर्मी यो व्यानरसँग जोडिन चाहन्छन् ।
अधिकांश असफल फिल्म निर्माण गरेपनि निर्देशक शोभित बस्नेतको सलोन फिल्म चर्चामा छ । माथी उल्लेखित व्यानरले निर्देशक फरक-फरक लिन्छ भने सलोन फिल्मसका निर्देशक सोभित बस्नेत नै हुने गर्दछन् । पछिल्लो पटक यो व्यानरले सञ्चारकर्मी लक्ष्मण सुवेदीलाई 'एउटा साथी' फिल्म निर्देशनको जिम्मा दिएको छ । तर, यो व्यानरका लागि लगानीकर्ता भने फरक-फरक हुने गर्दछन् ।

