चर्चित महिला भलिबल खेलाडी तथा गुरूङ फिल्मकी अभिनेत्री सिपोरा गुरुङको आयोजनामा अनाथ बालबालिकाको सहयोगार्थ पोखरामा साँगीतिक कार्यक्रम हुने भएको छ । उनले 'माया’ शिर्षक दिएर प्रणय दिवस (भ्यालेन्टाईन डे’को दिन यस्तो खालको कार्यक्रम गर्दैछिन् ।

भलिबल खेलाडी तथा अभिनेत्री गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै कार्यक्रमको बारेमा जानकारी गराएकी हुन् । 'अनाथ बालबालिकाले पनि माया पाउनुपर्छ, प्रेम दिवसमा मैले उनीहरुसंगै माया साट्ने तयारी गरिरहेकी छु,’ सिपोराले भनेकी छन्- 'सबैको सहयोग पाउने आशा पनि गरेकी छु ।’
बाबु आमा गुमाईसकेका, मायाबाट बञ्चित, अभिभावकत्व नपाएका अनाथ बालबालिकालाई माया प्रदान अथवा नेपाल भलिबल संघको सहयोगमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममार्फत अनाथ बालबालिकालाई गरिने तुच्छ सम्बोधन सम्बन्धि पनि जनचेतना फैलाउने उनको योजना छ ।
शारिरीक अभिलाषासहित गरिने प्रेमको तुलनामा स्वच्छ मनसहित गरिने मायाले नै प्रणय दिवसको साँचो अर्थ दिने भएकोले सोहि दिनमा कार्यक्रम आयोजना गरेको उनले बताईन् । लेकसाइडस्थित प्यारालञ्ज क्याफेमा बेलुका ५ बजेदेखि गायक शिव परियार, हेम लामा, द कनेक्शन ब्याण्ड र डिजे सलिमको साथमा 'माया’ सांगीतिक कार्यक्रम हुनेछ ।
सिपोरा मिस नेपाल २०१३ को मिस ट्यालेण्ट उपाधि विजेता हुन् भने उनले 'घलेक द साइन अफ लभ'मा मुख्य नायिका भएर अभिनय गरेकी छन् ।

