Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा `झोले`को रेड कार्पेट प्रिमियर । फिल्मले सबैलाई हँसायो

अर्पण ढकाल, धरान, 2014/02/09

पछिल्लो समयमा नेपाली फिल्मको रेड कार्पेट प्रिमियर गर्ने ट्रेन्डमा  कमी आएको छ । केहि फिल्महरुले यो ट्रेन्डलाई निरन्तरता दिए पनि त्यो काठमाण्डौमा नै सिमित हुने गरेको छ । काठमाण्डौ बाहिर रिलिज पूर्व कुनै पनि फिल्मको रेड कार्पेट सहित प्रिमियर गर्ने ट्रेन्डको सुरुवात अझ हुन सकेको छैन ।

 

तर, धरानमा शनिबार साँझ फाल्गुन ९ बाट देशभर प्रदर्शनमा आउने क्रममा रहेको फिल्म 'झोले'को भब्य रेड कार्पेट प्रिमियर गर्दै यो ट्रेन्डको अभ्यास पूर्वमा गरिएको छ ।  धरानको इन्टर सरफेस नामक संस्थाको सहकार्यमा गणेश टाकिजमा साँझ ६ बजे 'झोले'को प्रिमियर गरिएको थियो जहाँ फिल्मका निर्देशक दीपेन्द्र के. खनाल, निर्माता टेकेन खड्का, स्क्रिप्ट राईटर शान बस्न्यात, सम्पादक दीर्घ खड्काको साथमा कलाकार दयाहाङ राई, प्रियंका कार्की र शिशिर राणाको उपस्थिती थियो ।


पिताको निधनको कारण भोजपुरमा रहेका दयाहाङ ढिलो गरेर भोजपुरबाट सिधै धरान आएका थिए भने प्रियंका कार्यक्रममा उपस्थित सबैको आकर्षणको केन्द्रबिन्दु बनेकी थिईन् । त्यसो त आफ्नो जन्मस्थानमा आएर फिल्मको भब्य कार्यक्रममा सहभागिता जनाउन पाउँदा उनी हर्षित देखिन्थिन् । उनले प्रिमियर पूर्व नै धरानमा फिल्मको प्रचारप्रसार गरेकी थिईन् ।

 

धरानमा सडक महोत्सव भैरहेको बेला गरिएको प्रिमियरमा फिल्म हेर्नको लागि विभिन्न क्षेत्र र वर्गका दर्शकको उत्साहजनक उपस्थिति देखिएको थियो । गीत र ट्रेलरको चर्चाले प्रतिक्षित बनेको फिल्म हेर्ने अधिकांश दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका । फिल्म भित्र प्रयोग गरिएको डार्क कमेडी र सस्पेन्स स्टोरीले दर्शकलाई अन्तिम समयसम्म बाँध्न सफल भएको थियो । फिल्म प्रदर्शन अवधीभर दर्शकको हाँसोले हल गुञ्जायमान भएको थियो ।

 

दयाहाङ र प्रियंकाको कामको सबैले प्रशंसा गर्दै समग्र फिल्मको टिमलाई सफलताको शुभकामना समेत दिएका थिए । फिल्म हेर्नेले दिएको यो सकारात्मक प्रतिक्रियाले फिल्म रिलिज पश्चात यसको व्यापारमा ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ । पुरूषोत्तम प्रधानको छायाँकन तथा हरि लम्सालको संगीत रहेको यो फिल्म फिल्ममा ए गुरुङ, शंकर आचार्य,  माधव आचार्य लगायतको समेत अभिनय रहेको छ ।