आज माघ २४ गतेबाट प्रदर्शनमा आएका ‘मोक्ष’ र ‘झोला’ ले प्रदर्शन पूर्व प्रशंसा बटुले । च्यारेटीमा सहभागीले ‘मोक्ष’ र ‘झोला’ खुबै तारिफ गरे । प्रदर्शन पूर्व चर्चा कमाएका ‘मोक्ष’ र ‘झोला’ फिल्मले हलमा पुग्दा निर्मातालाई खुसी बनाउन सकेन ।
प्रदर्शनको पहिलो दिन यी दुई फिल्मको कुनैपनि शो हलमा हाउसफुल हुन नसकेको रिपोर्ट प्राप्त भएको छ । फिल्म हेर्न दर्शक किन आएनन् ? उल्लेख्य दर्शक आउने अपेक्षा गरेका निर्माता सुनिल मानन्धरले कारण पत्ता लगाउन सकेका छैनन् । वितरक समेत रहेका ‘मोक्ष’ का निर्माता मानन्धरले फिल्म हेर्न हलमा दर्शकको घुइँचो नलागेको कुरा स्विकार गरे । उनको आशा छ- ‘माउथ पब्लिसिटीले आगामी दिनमा फिल्म हेर्न दर्शकको घुइँचो लाग्ने अपेक्षा गर्दछु ।’
ब्ल्कवस्टर फिल्म ‘लुट’ ले पनि पहिलो हप्ता सुख्खाको व्यापार बेहोर्नु परेको थियो । 'लुट'को जस्तै रिलिज पश्चात माउथ पब्लिसिटीले फिल्मको व्यापार बढ्ने आश गरिएको छ । समिक्षक, फिल्मकर्मी, सञ्चारकर्मी तथा आज हलमा पुगेका दर्शकले 'मोक्ष'को सबैभन्दा बढी तारिफ गरेका छन् । 'मोक्ष'लाई कतिले त बर्षकै उत्कृष्ट फिल्म समेत भन्न भ्याएका छन् ।
अन्य फिल्मको दाँजोमा ‘मोक्ष’ हेर्ने दर्शकको संख्या हलमा बढी रहेको सुनिलको दाबी छ । मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठको जीवनीमा आधारित ‘मोक्ष’ मा कोशिस क्षेत्री र बेनिशा हमालको मुख्य भूमिका छ भने यादव भट्टराई निर्देशित सतीप्रथाको बिषयमा बनेको ‘झोला’ फिल्ममा गरिमा पन्त मुख्य भूमिकामा छिन् । आजैबाट प्रदर्शनमा आएको सूर्य बोहरा निर्देशित फिल्म 'मुटु' हेर्न पनि हलमा दर्शकको घुईंचो देखिएको छैन ।

