काठमाडौं बाहिरका जिल्लाहरुमा अहिले फिल्म चलिरहेका छैनन् तर मोफसलमा अहिले हप्तैपिच्छे महोत्सव चल्दैछन् । चलेका हाँस्य कलाकार तथा गायक, गायिकाको मुख्य आम्दानीको स्रोत बन्ने गरेको महोत्सवमा फिल्मका हिरो हिरोइनलाई मुख्य आकर्षकको रुपमा प्रस्तुत गरेर दर्शकलाई टिकट कटाइन्छ ।
झन्डै ६ महिना जसो चल्ने महोत्सवमा सर्वाधिक सहभागी हुने अभिनेतामा राजेश हमाल पर्न आउँछन् । महोत्सवमा राजेशले के गर्छन् ? महोत्सवमा सहभागी दर्शकलाई हात हल्लाएर अभिवादन गर्छन् । दर्शकको हुटिङ आयो भने बर्षौं पुरानो फिल्मको ‘साथीको लागि यो हात सलाम दुश्मनको लागि फलाम’, 'शंकर हो मेरो नाम शंकर' भन्ने डायलग सुनाउँछन् । तालपरे राजेशले केही मिनेट गीतमा कम्मर पनि मर्काउँछन् ।
यति गरे वापत महोत्सव आयोजकबाट राजेशले कति पारिश्रमिक रकम पाउँछन् ? प्राप्त जानकारी अनुसार एउटा महोत्सवबाट राजेशले झन्डै डेढ लाख रुपैयाँ पारिश्रमिक रकम लिन्छन् । कुनै पनि महोत्सवमा सहभागी भएर कलाकारले लिने पारिश्रमिक यो नै सर्वाधिक रहेको बताइन्छ । राजेश अहिले सम्मान थाप्न हङकङ पुगेका छन् । उनलाई हङकङ एनआएरएनले सम्मान गर्दैछ ।
अभिनेत्री रेखा थापाले पनि झन्डै राजेश हमालको जति नै पारिश्रमिक लिने गरेका बताइन्छ । गत साता मात्रै रेखा बर्दियाको गुलरिया महोत्सवमा सहभागी भएकी थिइन् । राजेश र रेखापछि अभिनेत्री करिश्मा मानन्धर पनि मोफसलका महोत्सवमा सहभागी हुने गर्छिन् ।
अभिनेता जीवन लुइँटेल पनि महोत्सवमा सहभागी हुन्छन् । ‘छ एकान छ’ फिल्म निर्माण गरेर सफल निर्माताको रुपमा दहरिएका दिपकराज गिरी र दिपाश्री निरौलाको जोडीलाई त प्रत्येक बर्ष महोत्सवमा हिड्न भ्याइनभ्याइ नै हुन्छ । फिल्म प्रदर्शनले पुस र माघ महिनाको महोत्सव छुटाएका दिपक र दिपा आउँदो साताबाट पुनः पूर्वी जिल्लामा हुने महोत्सवमा व्यस्त हुँदैछन् ।

