Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

यस्ता छन् यो बर्ष रजतपटमा आउने जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/02/07

नेपाली रजतपटमा नयाँ जोडीहरु देखिंदैछन्, केही पूराना जोडी दोहोरिने क्रम रोकिएको छैन । पर्दामा एक अर्काको प्रेमी प्रेमीका भएर अभिनय गरेका नयाँ तथा केही पुराना जोडीबारे फिल्मीखबरले छोटो चर्चा गरेको छ । माघ २४ सम्म प्रदर्शनमा आएका र प्रदर्शन मिति पक्का गरेर बसेका फिल्ममा देखिने जोडीहरुलाई मात्रै यहाँ प्रस्तुत गरेका छौं ।

 

बेनिशा हमाल र कोशिस क्षेत्री

आज (माघ २४ गते)बाट अल नेपाल प्रदर्शनमा आएको ‘मोक्ष’ फिल्ममा बेनिशा हमाल र कोशिस क्षेत्रीलाई जोडीको रुपमा देख्न सकिनेछ । च्यारेटीमा शोमा प्रसंशा बटुल्न सफल फिल्मको जोडी पर्दामा चाहिं सफल हुन्छ कि असफल ? थाहा पाउन हलमै जानुपर्ने हुन्छ । मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठको वास्तविक जीवनकथामाथि आधारित फिल्ममा बेनिशा र कोशिसको जोडी पहिलो पटक प्रस्तुत भएको हो ।

 

केकी अधिकारी र विमलेश अधिकारी

म्युजिक भिडियो हिट केकी अधिकारी र विमलेश अधिकारीको जोडी ‘मुटु’ फिल्ममा पहिलो पटक देखिंदैछ । माघ २४ गतेबाट प्रदर्शनमा आएको यो जोडीको रोमान्स पर्दामा खुबैसँग हेर्न पाइन्छ । म्युजिक भिडियोमा जमेको केकी र विमलेशको जोडी फिल्मको पर्दामा पनि जम्ने आशा गरिएको छ ।

 

नम्रता श्रेष्ठ र सिद्धार्थ कोइराला

विशेषगरी अभिनेता आर्यन सिग्देलसँग जोडी जम्ने भनिएकी अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘मेघा’ मा भने मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालासँग जोडी बाँधेकी छिन् । सिद्धार्थ सँगै ‘मेघा’ मा नम्रताको जोडी रेमनदास श्रेष्ठसँग पनि छ ।

 

दयाहाङ राई र प्रियंका कार्की

निर्देशक दिपेन्द्र के.खनालले कलाकार दयाहाङ राई र प्रियंका कार्कीलाई ‘झोले’ फिल्ममा जोडी बनाएका छन् । प्रियंका र दयाहाङ ‘झोले’ मा पहिलो पटक जोडी बनेर आउँदैछन् । प्रियंका र दयाहाङको ‘झोले’ को रोमान्टिक गीत यतिबेला हिट भैरहेको छ । गीत र ट्रेलरको चर्चाले फागुन ९ गते ‘झोले’ प्रतिक्षित फिल्म बनेको छ ।

 

मलिना जोशी र राजबल्लभ कोइराला

फागुन २३ गते नेपाल सहित विश्वका केही मुलुकमा प्रदर्शन हुने फिल्म ‘ऋतु’ मा पूर्व मिस नेपाल मलिना जोशी र अभिनेता राजवल्लभ कोइरालाको लोभलाग्दो जोडीलाई देख्न सकिनेछ । मनोज अधिकारी निर्देशित ‘ऋतु’ मा फरक देशमा बस्ने प्रेमप्रेमीका बिच आउने उतार चढावलाई मुख्य रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘ऋतु’ को सफा ट्रेलरले दर्शकको मन जितिरहेको छ ।

 

दीया मास्के र सौगात मल्ल

थिएटर पृष्ठभूमि भएका दीया मास्के र सौगात मल्लको जोडीलाई फिल्म ‘फिटकिरी’ मा देख्न सकिनेछ । चैत ७ गते प्रदर्शन हुने ‘फिटकिरी’ बाट दीया र सौगात हट जोडीको रुपमा रजतपटमा उदाउने अड्कल गरिएको छ । विवाहित प्रहरी र अविवाहित देखिएकी दीयाबिचको गर्म दृश्यलाई ट्रेलरमा हेर्न सकिन्छ । प्रतिक्षित बनेको ‘फिटकिरी’ लाई रंगकर्मी अनुप बरालले निर्देशन गरेका हुन् ।

 

नम्रता श्रेष्ठ र आर्यन सिग्देल

‘मेरो एउटा साथी’ छ पछि नम्रता र आर्यनको जोडी ‘नोभेम्वर रेन’ मा जम्दैछ । चैत १४ गते प्रदर्शन हुने यो फिल्ममा नम्रता र आर्यनको जोडीलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । निर्देशक दिनेश राउतले नम्रता र आर्यनको जोडीलाई सम्झिरहने जोडीको रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । रजटपटमा सुहाउँदो जोडीको रुपमा हेरिने नम्रता र आर्यनको जोडीले ‘नोभेम्वर रेन’ लाई व्यावसयिक सफलता दिन कत्तिको सहयोग पुर्याउँछ ? प्रतिक्षा गर्रौ ।

 

अनुभव रेग्मी र सुज्ञानी भट्टराई

‘नाइ नभन्नु ल २’मा अनुभव रेग्मी र सुज्ञानी भट्टराईको फुच्चे जोडीलाई हेर्न सकिनेछ । प्रेम परियारद्धारा स्वरवद्ध ‘यी आँखामा तिमी छौं’ बोलको गीतमा गरेको अभिनयबाट दर्शकको मन जितिरहेका अनुभव र र सुज्ञानीको बालप्रेमलाई विकास आचार्यले फिल्ममा मन छुने गरी प्रस्तुत गरेको बुझिएको छ । बालप्रेम कथाको फिल्म ‘नाइ नभन्नु ल २’ नेपाली नयाँ बर्षको अवसर पारेर चैत २८ गते प्रदर्शन हुँदैछ ।

 

प्रियंका कार्की र सुरज सिंह ठकुरी

फिल्म 'नाइ नभन्नु ल २'म प्रियंका कार्की र सुरज सिंह ठकुरीको जोडी पनि महत्वपूर्ण छ । यो जोडी फिल्ममा अनुभवको आमाबाबु बनेर देखिनेछन् । यसअघि 'कर्कश' फिल्ममा देखिएकी सुरजलाई र पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री प्रियंकाको जोडीलाई दर्शकले निकै रूचाउने निर्देशक विकास आचार्य बताउँछन् ।

 

जेनिशा केसी र यश कुमार

चैत २८ मै प्रदर्शन हुने ‘आधी बाटो’ मा देखिएको जेनिशा केसी र यश कुमारको जोडीले पनि दर्शकको मन छुने विश्वास गरिएको छ । निर्देशक सबिर श्रेष्ठले जेनिशा र यशको जोडीलाई रोमान्टिक देखाउने भरपुर प्रयत्न गरेका छन् । साँगीतिक प्रेमकथाको फिल्ममा सविन श्रेष्ठ र अनु शाहबिचको छोटो प्रेम जोडीलाई पनि हेर्न सकिनेछ ।

 

गरिमा पन्त र बिरेन श्रेष्ठ

चैत २८ गते प्रदर्शन हुने अर्को फिल्म ‘मनले मनलाई छुन्छ’ मा गरिमा पन्त र बिरेन श्रेष्ठबिच जोडी बाँधिएको छ । स्व. शिव रेग्मीको निर्देशन रहेको फिल्ममा गरिमा र बिरेन गहिरो प्रेम गर्ने जोडीको रुपमा प्रस्तुत भएका छन् । पारिवारिक प्रेमकथाको फिल्मलाई दर्शकले मन पराउने आशा गर्न सकिन्छ ।