कोशिस क्षेत्रीको एल्बम ‘दैव’ र ‘सराप’ ले बजारमा राम्रै हिट खाए । नेपाली पप संगीतमा कोशिस क्षेत्री सुपरहिट नभएपनि फल्प नाम भने हैन । झन्डै चालिस वटा पप गीतमा स्वर र बाह्र गीतमा संगीत संयोजन तथा कम्पोज गरेका कोशिस नेपाली पप संगीतमा मध्यम सुनिने नाम हो । यो नाम अब नेपाली रजतपटमा पनि हिट हुने क्रममा छ ।
यही माघ २४ गतेबाट प्रदर्शनमा आउने ‘मोक्ष’ फिल्ममा कोशिसले गरेको जिवन्त अभिनयको तारिफ सबैतिरबाट भैरहेको छ । कोशिसको अभिनयसँगै च्यारेटीमा सहभागीले ‘मोक्ष’लाई मन पराएका छन् । पप संगीतबाट फिल्म क्षेत्रमा पाइला चालेका हेटौंडाका स्थायी कोसिश क्षेत्री फिल्मीखबरका उत्सब रसाइलीसँग मज्जैले गफिए ।
‘मोक्ष’ फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएका कोशिस सुरुमा सहायक भूमिकाको छनोट भएका थिए । रंगकर्मी विरेन्द्र हमालबाट चार महिने अभिनयको कक्षा लिएपछि कोशिस ‘मोक्ष’को मुख्य भूमिकाको लागि ‘सेलेक्ट’ भए । कोशिस भन्छन्- ‘प्रविन दाईले मुख्य कलाकार तिमी भयौं भन्दा रमाइलोसँगै डर पनि लागेको थियो ।’ सहायकबाट मुख्य भएका कोशिसले आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय गरे ।
‘मोक्ष’को मुख्य भूमिकामा छानिएपछि कोशिसलाई अभिनयसँगै शारीरिक रुपमा पनि ‘फिट’ हुनुपर्ने दबाब थपियो । ‘बिहान उठ्न सार्है अल्छी लाग्थ्यो,’ ‘मोक्ष’ मा अभिनय गर्ने भएपछि उनले आफ्नो फेरिएको बानीबारे सुनाए- ‘बिहान ६ बजे नै उठेर शारीरिक अभ्यास गर्न थालें । चार महिनासम्म भात खाइन ।’ 'चना कि छोराले खान्छ कि घोडाले' भनेर उखान गरिने चना नै कोशिसको चार महिनाको खान्की बन्यो । नभन्दै उनको ७२ केजीको शरीर ६२ केजीमा झर्यो ।
कोशिस सपाङ्ग हुन् । तर, ‘मोक्ष’ मा उनले कम्मर मुनिको पुरै भाग नचल्ने अपाङ्गता भएको व्यक्तिको भूमिका निभाउनु पर्ने थियो । कसरी पात्रलाई जिवन्त देखाउने ? जुक्ती जुर्यो, ‘हिव्ल चियरमा हिंडेर अभ्यास गर्ने ।’ उनले करिब एक महिना बाग्मतीको किनारमा प्रत्येक बिहान हिव्ल चियरको यात्रा गरे । ‘मर्निङ वाक’ बिहानको यात्रा गर्नेले उनलाई भन्दा पनि हिव्ल चियरलाई बढी नजर लगाए ।
सबैले आफुतिर हेर्दाको अनुभव बारे कोशिस सुनाउँछन्- ‘हिव्ल चियर प्रयोग गर्दा अरुको हेराइ पनि फरक लाग्ने रहेछ । कसैले केही सहयोग गर्यो भने पनि मलाई दया गर्यो भनेर रिस उठ्ने रहेछ ।’ त्यसैले अपाङ्गता भएका व्यक्तिबारे कोशिसको धारणा छ- ‘उनीहरुलाई दया हैन, सक्षम हुने सिप दिनुपर्छ ।’
‘मोक्ष’मा प्रेमिका बनेकी अभिनेत्री बेनिशा हमाललाई एक दृश्यमा जर्बजस्ती चुम्बन गर्नु पर्ने थियो । ‘चुम्बन कसरी गर्ने होला ? भन्ने कौतुहल थियो,’ उनले सुनाए- ‘खासै गाह्रो भएन । बेनिशाले सहयोग गरिन् ।’ जर्बजस्ती चुम्बन गर्नु पर्ने दृश्य दुई टेकमा ‘ओके’ भएको थियो । ‘चुम्बन गर्दा खासै त्यस्तो फिल भएन,’ कोसिश सुनाउँछन् ।
मोडलिङ क्षेत्रमा आउने सानै देखिको रहर थियो । बुवा पनि यही क्षेत्रमा भएकाले सायद रगतमै यो क्षेत्रप्रति लगाव थियो । मेरो बुवा (ज्ञानविर क्षेत्री) कलाकार, संगीतकार र संगीत संयोजक हुनुहुन्थ्यो । मलाई याद छ, बुवाले सानो छंदा एउटा ‘डायलग’ मलाई कन्ठै गराउनु भएको थियो । डायलग थियो, ‘मेरो मालतीलाई छोएर मात्रै त हेर् तेरो हात सात भाँचिदिन्छु ।’ म नाच्नमा पनि च्याम्पियन थिएँ । शशी रावलको पहिलो गीत ‘तिम्रो हात समाई’ बोलको गीतमा पहिलो पटक मोडलिङ गरें । त्यतीबेला म सार्है खुसी भएको थिएँ ।
'जसको प्रेरणाले म यो क्षेत्रमा आएँ । उहाँले नै मेरो पहिलो फिल्म हेर्न पाउनु भएन । गत महिना बुवाको हेटौंडा घरमै हृदयघातका कारण मृत्यु भयो । सायद म पहिलो पटक बुवाको मृत्युमा धेरै रोएँ । त्यो दिन नै मेरो जीवनको पहिलो दुःखद दिन थियो । ‘मोक्ष’ का केही दृश्यमा मेरो आँखा रोएको छ तर बुवाको अकल्पनीय निधनले मेरो मन धेरै रोयो । मेरो आँखाबाट धेरै आँसु बग्यो सायद अब म मेरो आँखाबाट त्यति धेरै आँसु कहिल्यै बग्ने छैन,' उनी भावुक बने ।
'संगीत क्षेत्रले मलाई माया, सम्बन्ध र काठमाडौंमा बाँच्न सिकायो अब फिल्म क्षेत्रबाट आफ्नो पहिचान बनाउँछु । आफुले न्याय गर्न सक्ने भूमिका र कलात्मक फिल्मको अभिनयलाई जोड दिन्छु । ‘मोक्ष’बाट मैंले नसोचेको प्रसंशा पाइरहेको छु । आश गर्छु, अन्य फिल्ममा पनि मैंले यस्तै छाप छोड्न सकुँ,' कोशिसले सुनाए ।

