च्यारेटीमा सहभागीबाट प्रसंशा पाउन सफल फिल्म ‘मोक्ष’ यही शुक्रबार (माघ २४ गते)बाट प्रदर्शनमा आउँदैछ । ‘मोक्ष’सँगै यो शुक्रबार सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको ‘मुटु’ र सति प्रथामा आधारित यादव भट्टराई निर्देशित फिल्म 'झोला' पनि प्रदर्शनमा आउँदैछ ।
म्युजिकल लभ स्टोरीको ‘मोक्ष’ फिल्म देशका झन्डै ७५ वटा पर्दाबाट प्रदर्शमा आउने निर्माता तथा वितरक सुनिल मानन्धरले जानकारी गराए । ‘मोक्ष’ च्यारेटीमा तारिफ पाएपछि प्रतिक्षित फिल्म बन्न पुगेको ‘मोक्ष’ निर्देशक प्रविन श्रेष्ठको वास्तविक जीवन कहानी माथि आधारित छ । मेरुदण्ड पक्षघात भएका निर्देशक श्रेष्ठको वास्तविक कथाले फिल्मको झन्डै ८० भाग ओगटेको छ ।
ह्विल चियर प्रयोगकर्ता प्रविनको भूमिकामा गायक कोशिस क्षेत्री प्रस्तुत भएका छन् । निर्देशक श्रेष्ठको वास्तविकतालाई जीवन्तता दिन कोशिसले फिल्ममा भरपुर मिहेनत गरेका छन् । कोशिससँगै फिल्ममा बेनिशा हमाल, बिक्रम हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्ट लगायतको मुख्य भूमिका छ । प्रचार प्रसार सहित ६० लाख लगानी दाबी गरिएको ‘मोक्ष’ ले च्यारेटी एवं विदेश बिक्रीबाट लगानी रिकभर गर्ने निर्माता मानन्धर बताउँछन् ।
चौध बर्षपछि एक्सन कट्मा ब्याक भएका सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको ‘मुटु’ पारिवारिक प्रेमकथामा आधारित छ । ‘कान्छो’ र ‘अग्नि परिक्षा’ निर्देशन गरेर निर्देशक बोहोरा अमेरिका उडेका थिए । निर्देशकका यी दुई व्यावसायिक सफल फिल्म हुन् । फिल्ममा केकी अधिकारी, विमलेश अधिकारी र मुकेश आचार्यको मुख्य भूमिका छ । ‘मुटु’ अमेरिकामा प्रदर्शन भैसकेको छ ।
विशेष प्रदर्शनीमा फिल्म 'झोला'ले राम्रो प्रतिक्रिया बटुलेसँगै सो फिल्मलाई सार्वजनिक प्रदर्शनमा पनि रूचाईने विश्वास लिईएको छ । एक सय वर्ष अगाडीको सती प्रथामा आधारित फिल्ममा जयकला सतीको भूमिकामा गरिमा पन्तले अभिनय गरेकी छिन् । रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त लगानी रहेको फिल्ममा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडाको पनि अभिनय हेर्न सकिन्छ ।

