Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

नेपाली फिल्ममा देखिएको सुखद सँकेत

रेम बिक, पोखरा, 2014/02/05

'लुट' फिल्मले कुनैबेलाको हिट हिन्दी फिल्म ‘अग्नीपथ’को रिमेकलाई पछाडि पार्दै तत्कालिन समयमा खुब व्यापार गरेको थियो । 'लुट'लाई नेपाली दर्शकले खुब मन पराए । उसो त हिट फिल्मको रुपमा हेरिएको ‘अग्नीपथ’लाई पनि दर्शकले नरुचाएको भने होईनन् तर लुटको मिडिया हाईपको सामु 'अग्नीपथ' नेपालमा पुरै ओझेलमा पर्‍यो ।

 

त्यसयता प्रदर्शनमा आएका कुनै नेपाली फिल्मले हिन्दी फिल्मलाई ओझेलमा पारेको छ भने त्यो ‘६ एकान ६’नै हो । एक साथ अन्य तीन फिल्मसंगै जुधेर आएको ‘६ एकान ६’ले एकसाता पछि प्रदर्शनमा आएको सलमान खान अभिनित हिन्दी फिल्म ‘जय हो’लाई पछाडि पारिदियो । दर्शकले ‘जय हो’को तुलनामा ‘६ एकान ६’ नै मन पराए । जुन कारण मल्टिप्लेक्सहरुले ‘दोस्रो तेस्रो सातामा पनि ‘६ एकान ६’को शो टाईम बढाईरहे । अहिले पनि ‘६ एकान ६’को व्यापार चलिरहेकै छ ।

 

‘लुट’ र ‘६ एकान ६’को बिचमा धेरै नेपाली फिल्महरु प्रदर्शनमा आए । कतिले पानी समेत माग्न पाएनन् भने केहिले लगानीसम्म उठाए । तर हिट व्यापार कसैले दिन सकेनन् । धेरै समयपछि पुनः ‘६ एकान ६’ले ‘नेपाली फिल्म पनि हिट हुन्छ है’ भन्ने प्रमाणित गरिदिएको छ । जुन कुरा नेपाली फिल्म उद्योगका लागि सुखद हो ।

 

प्रदर्शन अगाडि मिडियामा गरिने प्रचारप्रसार र प्रदर्शन पश्चात ‘माउथ पब्लिसिटी’ मै फिल्मको व्यापार निर्भर गर्छ । नेपालमा पाएको मिडिया हाईपकै कारणले ओभरसिज राईटमा पनि बढिबढाउ चल्छ । त्यसैले यी हिट फिल्महरुले सिकाएका दुई कुरा छन् ।

 

१. फिल्ममा दर्शक आकर्षित गर्न व्यापक प्रचारप्रसार आवश्यक छ ।
२. प्रचारप्रसारले मात्रै पुग्दैन, फिल्म राम्रो हुनु पनि उत्तिकै जरुर छ ।

 

यी दुवै कुरा भएपछि मात्रै कलाकारको कुरा आउँछ । कुनैबेला स्टारहरुको पोस्टर देखाएर हलसम्म दर्शक तान्ने प्रवृत्ति यतिबेला गर्ने हो भने त्यो भन्दा मुर्खता अरु केहि हुदैन । केहि फिल्मकर्मीहरुले मुखै फोरेर भनेका छन्–‘नेपाली फिल्ममा स्टार कोहि पनि छैन ।’

 

कुरा पुन: फिल्मको व्यापारसँग जोडौँ । यतिबेला एउटा फिल्मले नेपाली फिल्म उद्योगमा पुनः सुखद सँकेत देखाएको छ । फिल्मको नाम हो ‘मोक्ष’ । फिल्मलाई सुनील मानन्धरले निर्माण गरेका हुन् । यसअघि ‘मायाज बार’ निर्माण गरेर डुबेका सुनीलले यो फिल्मले भने ‘दुई दिनमा करोड ग्रस गर्ने फिल्म’ भनेर मिडियामा भनिसकेका छन् ।

 

‘मोक्ष’ प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । म्युजिक भिडियोहरु निर्देशन र सम्पादन गर्दै आएका श्रेष्ठको डेब्यु फिल्म ‘मोक्ष’ले निकै राम्रो प्रिभ्यू पाईरहेको छ । यसले पनि फिल्मको व्यापारमा प्रभाव पार्ने देखिन्छ । त्यसवाहेक फिल्मले प्रदर्शन अगावै ओभरसिज राईट बेचेर २० लाख रुपैँया हात पारिसकेको छ । प्रचारप्रसार सहित ६० लाख रुपैँया खर्च भएको फिल्मले अब लगानी रिकभर गर्न ६० लाख नै ग्रस कलेक्सन गरे पुग्छ । प्रिभ्यूलाई आधार मान्ने हो भने फिल्मलाई सो ग्रस कलेक्सन गर्न त्यति गार्‍हो देखिँदैन ।



सुध्रिएकै हो त फिल्म बजार ?

नेपाली फिल्मको पछिल्लो बजार प्रतिक्रिया र दर्शकिय मनोविज्ञानलाई हेर्ने हो भने यसले गति लिईरहेको छ । यद्यपी फिल्मको बजारलाई पुर्वानुमान लगाएजसरी परिभाषित भने गर्न सकिँदैन । अहिलेसम्म नेपाली फिल्मको मार्केट भनेको ‘आए आँप, गए झटारो’ भनेजस्तै छ । सिधा भन्दा जुवा जस्तै मार्केट नेपाली फिल्मको छ ।

 

सिंगल रिलिज पाएर पनि उत्साहजनक कलेक्सन गर्न नसकेपछि ‘प्रोड्युसर’ फिल्मका निर्माताले ‘फिल्मले पैसा कमाउनका लागि भाग्य पनि चाहिँदो रै’छ’ भनेर अहिले टाउको समातिरहेका छन् । नेपाली फिल्मको हकमा यो एउटा कटु यथार्थ हो । नेपाली फिल्म चल्नका लागि ‘तालुमा आलु फल्नु पर्ने’ उदाहरण पछिल्ला घटनाक्रमले स्पष्ट पारेको छ ।

 

अहिले सरसर्ती हेर्दा नेपाली फिल्मको बजार पक्कै पनि राम्रो हुँदै गएको छ । मिडियामा फिल्महरुले पाउँदै गएको हाईपले पनि यो कुरालाई प्रस्ट्याउँछ । तर एउटा कुरा के सत्य हो भने, यो मार्केट फेरि बिग्रन सक्छ । यसलाई पुष्टी गर्नका लागि 'लुट' पछि चलेका अन्य नेपाली फिल्मको व्यापारलाई मात्र सम्झिए पुग्छ । त्यसैले एकादुई फिल्मको राम्रो व्यापारले मात्र समग्र नेपाली फिल्म उद्योगको गतिलाई निर्धारण गर्न सक्दैन ।



के गर्नुपर्छ त ?

गर्नुपर्ने धेरै छन् । नेपाली फिल्म नचल्नुमा सबैभन्दा ठुलो कारक भनेकै दर्शकीय मनोविज्ञान हो । दर्शकीय मनोविज्ञान छ कि, ‘नेपाली फिल्महरु राम्रा हुँदैनन्, र कपि फिल्महरु बनिरहेका छन् ।’ यस्तो दर्शकीय मनोविज्ञानलाई नेपाली फिल्म मेकर्सहरुले नेपाली फिल्ममा हुने लगानीको न्यून रकम देखाएर पन्छिने गरेका छन् । जुन मेकर्सहरुकै लागि फलदायी भैराखेको छैन ।

 

फिल्म राम्रो हुनका लागि स्क्रिप्ट राम्रो हुनुपर्छ । त्यसपछि स्क्रिप्टलाई फिल्ममा ढाल्ने तरिका राम्रो हुनुपर्छ । कलाकारहरुको अभिनय राम्रो हुनुपर्छ । प्रविधि पनि  राम्रो हुनुपर्छ । र, बजारसम्म ल्याईपुर्‍याउँदा सम्म बनिसकेको फिल्मको प्रचारप्रसार पनि राम्रो हुनुपर्छ । यति कुरा भएको खण्डमा नेपाली फिल्म चल्छन् । र, दर्शकीय मनोविज्ञान पनि चेन्ज हुन्छ । यसका लागि एक–दुई जना मेकर्सले मात्र सोचेर हुँदैन, यसका लागि सबैले सोच्नुपर्छ ।

 

नेपाली फिल्मले पैसा नकमाउनुमा अर्को एउटा कारण छ । वितरण प्रणाली र हलवालाको प्रवृत्ति । नेपाली फिल्महरु यतिबेला झोले वितरण प्रणालीमार्फत प्रदर्शन भैराखेका छन् । पहुँचवालाले धेरै हल पाउँछन् होईन भने फुस्स परेर बस्नुको अर्को विकल्प छैन । त्यसैमाथि पैसाको लोभमा परेर हलवालाहरुले हप्ता नपुग्दै नेपाली फिल्म हटाएर हिन्दी फिल्म चलाउँछन् । जसको प्रत्यक्ष मार नेपाली फिल्म निर्माताहरुमा पुगेको छ । हलवालाहरुले पनि नेपाली फिल्म उद्योगलाई गतिशिल बनाउन व्यवसायिक भन्दा बढि सामाजिक भएर सोँच्नुपर्ने बेला भएको छ ।



अन्तमा :

पछिल्लो समय नेपाली फिल्मको बजार विकास हुँदै जानु पक्कै पनि सुखद सँकेत हो । नेपाली फिल्मको बजार पनि विस्तार हुने क्रममा छ । बजार विस्तारका लागि सरोकारवालाहरु अझै तात्नुपर्ने देखिन्छ । नेपाली फिल्मको बजार विस्तार हुनु सरकारका लागि पनि पक्कै राम्रो कुरा हो । सरकारले पनि यसका लागि आवश्यक पुर्वाधारहरु उपलब्ध गराउनुपर्छ ।

 

फिल्म राम्रो भएको खण्डमा निर्माता मात्रै खुशि होईन, धेरै कलाकार, प्राविधिकहरु, हलवालाहरु, वितरकहरु देखि लिएर नेपाली दर्शक समेत खुशि हुनेथिए । फिल्म उद्योगमा रोजगारी बढ्ने थियो । बेरोजगारीले गाँजेको नेपाली युवाहरुले केहि राहत पाउनेथिए । सबैले एकचोटी यस्तै सोचौ न, हुन्न ?