'लुट' फिल्ममा दर्शकलाई मज्जाले हँसाएका निर्देशक निश्चल बस्नेतलाई 'झोले' फिल्मले मज्जाले हँसाएछ । त्यसैले त उनले 'झोले' फिल्मको दिल खोलेर प्रशंशा गरेका छन् ।
मंगलबार राजधानीको कुमारी हलमा गरिएको 'झोले' फिल्मको च्यारिटीमा सहभागी भएका निश्चलले फिल्म हेरेपश्चात फेसबुकमा स्टाटस लेखे । उनले स्टाटसमा 'झोले'का मुख्य पात्र दायाहाङ राई, प्रियंका कार्की र ए गुरूङले बोलेका संवादहरू लेख्दै नक्कली 'रिया डार्लिङ'को भूमिका निर्वाह गरेकी अभिनेत्री प्रियंका कार्कीको कामबाट आफू निकै प्रभावित भएको उल्लेख गरेका छन् ।
'झोले' फिल्मले दर्शकलाई मज्जैले हँसाउन सक्ने बताउँदै निश्चलले निर्देशक दिपेन्द्र के खनाललाई दर्शकलाई मनोरञ्जन दिने फिल्म बनाएकोमा बधाई समेत दिएका छन् । निश्चलले फागुन ९ गते पैसाको सदुपयोग गर्दै दर्शकलाई दिल खोलेर हाँस्न तयार हुन आग्रह गरेका छन् । उनले राम्रो फिल्म बनाएकोमा सम्पूर्ण निर्माण टिमलाई बधाई समेत दिए ।

आशा नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको च्यारिटीमा सहभागी भएका अर्का निर्देशक प्रचण्डमान श्रेष्ठले 'लुट'पछि मज्जाले हाँस्न पाएको बताएका छन् । डार्क कमेडी फिल्म 'झोले' हेर्न निर्माता माधव वाग्ले सहित अन्य केहि फिल्मकर्मी पनि कुमारी हल पुगेका थिए । उपस्थित सबैले फिल्मले निकै हँसाएको प्रतिक्रिया दिए । फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

