फिल्म खेल्ने र प्रचारमा नहिड्ने नेपाली कलाकारको पुरानै बानी हो । आफु अभिनित फिल्मको प्रचारमा नहिड्ने बानीबाट निर्माता तथा निर्देशक हैरानीमा परेका छन् । फिल्मीखबरसँगको एक भेटमा ‘झोले’ निर्देशक दिपेन्द्र के. खनाल पनि यस्तै हैरानी खेप्नु परिरहेको गुनासो पोखेका थिए ।
कस्ले समय दिएन ? भन्न नपाउँदै निर्देशक खनालले भनिहाले- 'हिरोइनको समय कहाँ पाइन्छ र ?’ प्रियंका कार्कीले फिल्मको प्रचारमा समय नदिएको दिपेन्द्र गुनासो पोख्दै थिए । सायद निर्देशक खनालको गुनासो सुनेरै होला प्रियंकाले ‘झोले’ प्रचारको लागि समय निकालेकी छिन् । मलेसियामा सम्पन्न एनसेल एभेन्ट्समा सहभागी भएर यसै साता नेपाल फर्किएकी प्रियंकाले ‘झोले’ प्रचारको लागि प्रदर्शन पूर्वको एक साता छुट्याएकी छिन् ।
एक फिल्मको सुटिङमा व्यस्त रहेकी प्रियंकाले भनिन्- ‘मैंले सुटिङ युनिटसँग ‘झोले’ प्रचारको लागि एक साता मागेकी छु ।’ डार्क कमेडी फिल्मको प्रचारलाई निर्माण युनिटले व्यापक पारिरहेको छ । टेकेन खड्का निर्मित ‘झोले’मा प्रियंकासँगै दयाहाङ राई र ए गुरुङको मुख्य भूमिका छ ।
यो बर्ष सफल व्यावसायिक सफल हुने फिल्मको लिस्टमा ‘झोले’ पर्न सक्ने देखिएको छ । ‘झोले’को सफलता प्रियंकाको फिल्मी करिअरसँग प्रत्यक्ष जोडिएको छ । ‘झोले’को सफलता नै प्रियंकाको करिअरमा पहिलो सफल फिल्म हुनेछ । निर्देशक खनालको भने यसअघिको फिल्म 'चपली हाईट' ब्लकबस्टर भईसकेको छ ।

