निर्माता सुनिल मानन्धरले ‘मोक्ष’ले दुई दिने व्यापार झन्डै एक करोडको गर्ने दाबी गरेका छन् । फिल्मले पाएको प्रतिक्रिया र मल्टिप्लेक्स स्टेशनले दिएको शोलाई आधार मान्दै निर्माता मानन्धरले यस्तो दाबी गरेका हुन् ।
एक करोड लगानी रहेको ‘मायाज बार’ फिल्मले लगाएको घाटा ‘मोक्ष’ ले परिपूर्ती गर्ने समेत निर्माता मानन्धरले दाबी गरे । उनले भने- 'फिल्मको घाटा भन्दा पनि नाफा कति कमाउँछ भन्ने हिसाब निकाल्दैछु ।’ प्रचार खर्च सहित ६० लाख लगानी रहेको मोक्षको ८० प्रतिशत लगानी बिदेशीमा भएको प्रदर्शनाधिकार बिक्रीबाटै उठ्ने उनले बताए ।
प्रविन श्रेष्ठ निर्देशित ‘मोक्ष’ यही शुक्रबार माघ २४ गते देखि मल्टिप्लेक्स सहित देशका झन्डै ८० वटा पर्दामा एकसाथ प्रदर्शन हुँदैछ । साँगीतिक ब्यान्ड तथा मेरुदण्ड पक्षघातको विषयलाई मुख्य प्लट बनाइएको यस फिल्मलाई च्यारेटीमा सहभागीले अत्याधिक रुचाएका छन् । फिल्मका निर्देशक प्रविन श्रेष्ठ स्वयम् मेरुदण्ड पक्षघाती हुन् ।
प्रतिक्षित मानिएको यस फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, बसन्त भट्ट, वशाल ढुङ्गाना र सपना श्रेष्ठको मुख्य भूमिका छ । निर्माता सुनिल मानन्धरले दाबी गरेजस्तै ‘मोक्ष’ ले प्रदर्शनको दुई दिनमै एक करोडको व्यापार गर्ला ? सफलताको लागि हाम्रो शुभकामना !

