मीनबहादुर भामले निर्देशन गर्न लागेको फिल्म ‘कालो पोथी’ले स्वीजरल्याण्डको प्रतिष्ठित फन्ड ‘भिजन सुद’ मार्फत ५० हजार स्विस फ्रयांक (५५ लाख रुपैयाँ) आर्थिक सहयोग प्राप्त गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मले सो फण्ड प्राप्त गरेको जानकारी गराईयो ।
दुई वर्ष लगाएर मीन बहादुर भामद्धारा लिखित ‘स्किृप्ट’ले विश्वभरिका प्रतिस्पर्धीलाई उछिन्दै सो पुरस्कार प्राप्त गरेको हो । सो पुरस्कार प्राप्त गर्ने तीन विदेशी फिल्म मध्ये ‘कालो पोथी’ एक हो । कार्यक्रममा निर्देशक मीन बहादुर भामले ‘कालो पोथी’ ले विभिन्न देशका सयभन्दा बढी आवेदक मध्येबाट उत्कृष्ट ठहरिई सो सहयोग प्राप्त गरेको जानकारी गराए ।
‘कालो पोथी’उक्त स्विस फण्ड पाउने पहिलो नेपाली फिल्म बन्न सफल भएको छ । तर फिल्मको अनुमानित बजेट एक करोड पच्चिस लाख भएकाले बाँकी लगानी कर्ता खोजिरहेका भामलाई निर्देशक छिरिङ रितार शेर्पा शेर्पा र देवकी राईले पनि सघाउने भएका हुन् ।
‘मुकुण्डो’,‘कर्मा’ र ‘उमा’ जस्ता फिल्म निर्देशन गरेका शेर्पा पहिलोपल्ट लगानीकर्ताको भूमिकामा देखिन लागेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक छिरिङ रितार शेर्पाले स्विस सहयोगले नेपाली फिल्मले साँच्चिकै अन्तराष्ट्रिय बजार समातेको टिप्पणी गरे । उनले भने- ‘कालो पोथीले जुन सहयोग पाएको छ त्यो साँच्चिकै ठूलो सहयोग हो । यो सहयोगले पहिले त नेपाली फिल्मलाई वास्तविक र औपचारिक अन्तर्राष्ट्रिय रिलिजको अवसर प्रदान गर्दछ भने हामी पैसाको चिन्ता छोडेर फिल्मको रचनात्मक पाटोमा मात्र ध्यान दिन सक्छौं ।’
कार्यक्रममा पुरस्कार दिने संस्थाले मीनको ‘कालो पोथी’लाई स्विजरल्यान्डका लोकार्नो फिल्म महोत्सव र फ्राइबर्ग फिल्म महोत्सवमा समावेश गर्ने र सोही संस्थाले स्विजरल्यान्डमा फिल्मको ‘पब्लिक रिलिज’ तथा वितरण गरिदिने जानकारी पनि गराइयो । फिल्मको प्रदर्शनबाट आएको पैसा पनि निर्माण समूहले नै पाउनेछ ।
कर्णाली भेगका दुई बालकको सेरोफेरोमा घुम्ने फिल्मले १० वर्षे द्धन्द्धको पृष्ठभूमिमा ती बालकले साँचेका समान लक्ष्यको कथालाई अभिव्यक्त गर्छ । निर्देशक भामले फिल्मले ‘जात र वर्गका आधारमा हुने विभेदलाई उजागर गर्ने बताए । ‘फिल्मको मुख्य विषय कर्णाली भेगमा हुने जात र वर्गका आधारमा हुने विभेद हो । नेपालको १० वर्षे द्धन्द्ध पृष्ठभूमिमा रहनेछ,’भामले भने । भामले विदेशी सहयोग पाएको भन्दैमा फिल्मलाई भयंकर नठान्न पनि आग्रह गरे ।
‘विदेशी सहयोग पायो भन्दैमा यसलाई तपाईंहरुले आर्ट वा फरक खाले फिल्म हो भन्ने नठान्नुहोला । यो फिल्म पनि अरु फिल्म जस्तै सामान्य फिल्म हो । हाम्रो प्रयास केवल यत्ति रहनेछ सबैले यो फिल्म हेरेर मनोरञ्जन लिनुहोस् र हाम्रो लगानी फिर्ता आओस् । किनकी हरेक फिल्म आफैंमा कमर्सियल हुन्छन्, ’भामले भने ।
फिल्मलाई दशैंतिहारको छेकोमा सुटिङ गर्ने निर्माण समूहको योजना छ । फिल्ममा कलाकार तथा प्राविधिकहरुको छनोट कार्य बाँकी रहेको पनि कार्यक्रममा जानकारी गराइयो । भामले यसअघि निर्देशन गरेको छोटो फिल्म ‘बाँसुली’भेनिस फिल्म फेस्टिभलमा प्रदर्शित भएको थियो ।

