क्यालेन्डरमा रातो देख्नुहुन्न नेपाली फिल्म निर्माताहरु फिल्म रिलिजकालागि तँछाड मछाड गर्छन् तर निर्माताले सोचे जस्तो बिदामा रिलिज हुने सबै फिल्मले पैसा भने कमाउन्नन् । विदाको मौका पारेर बिहिबार नै रिलिज भएको फिल्म ‘प्रोड्युसर’ ले पनि तीन दिनको सार्वजनिक बिदाका बावजुद उल्लेख्य दर्शक बटुल्न सकेन ।
शहिद दिवस, सोनाम ल्होसार र शनिबार सार्वजनिक बिदाको दिन फिल्मको व्यापार उच्च नरहेको सम्बन्धित वितरकले बताएका हुन् । बिदा खाने भन्दै ‘प्रोड्युसर’ बिहिबारै मोफसलका पर्दामा प्रदर्शन भएको थियो । शुक्रबारबाट राजधानीका पर्दामा प्रदर्शन भएको फिल्म ‘प्रोड्युसर’ फिल्मले तीन दिन सार्बजनिक बिदामा झन्डै १० लाख ग्रस कलेक्सन गरेको काठमाडौं वितरक सुनिल मानन्धरले बताए ।
‘प्रोड्युसर’ को तीन दिने कलेक्सन तुलनात्मक रुपमा खासै सुखद् हैन । राजकुमार राई निर्मित फिल्मले पूर्वका हलमा भने राम्रै दर्शक पाएको मोफसल वितरक नरेन्द्र महर्जनले बताए । उनका अनुसार पश्चिममा चलिरहेको महोत्सवका कारण दर्शक हलमा गएनन् ।
मोफसलका पर्दामा ‘प्रोड्युसर’ ले तीन दिनमा ग्रस कलेक्सन कति गर्यो ? वितरक महर्जनले हिसाब आउन बाँकी रहेको जानकारी दिदैं उनले भने- ‘पश्चिमका दर्शक हलमा भन्दा महोत्सवमा व्यस्त छन् । पश्चिममा फिल्मको व्यापार उत्साहको छैन ।’ जनकदिप पराजुली निर्देशित ‘प्रोड्युसर’ मा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई लगायतको मुख्य भूमिका छ ।
चौथो हप्तामा ‘छ एकान छ’
कमेडी फिल्मले झन्डै एक दर्जन पर्दामा प्रदर्शनरत छ । योसँगै ‘छ एकान छ’ चौथो हप्तामा प्रवेश गरेको छ । फिल्म मोफसलका केही र काठमाडौंका तीनै ठूला मल्टिप्लेक्समा चलिरहेको छ । फिल्मका निर्माता दिपकराज गिरीले प्रदर्शनरत पर्दामा फिल्म हेर्ने दर्शकको संख्यामा न्यूनता नआएको बताए । दिनेश डिसी निर्देशित फिल्म करिब दुई करोड ग्रस व्यापारको दौडमा छ ।

