नेपालको प्रदर्शनबाट कमै मात्र निर्माताले लगानी उठाउने आशा गर्छन् । कारण नेपालमा हिट भएको भनिएका फिल्मले पनि लगानी उठाउन नसकेका तथ्यांकहरु बाहिरी रहेका छन् । त्यसैले पनि विदेशमा फिल्म शोज गर्नु नेपाली निर्माताहरुको रहर र बाध्यता दुवै हो ।
यही फागुन २३ गते (मार्च ७ तारिख) नेपाली पर्दामा प्रदर्शन हुने ‘ऋतु’ फिल्मले पनि आफ्नो लगानी रिकभर गर्न विदेशी बजारलाई पहिलो प्राथमिकतामा राखेको छ । निर्माता अपिल बिष्टले ‘ऋतु’ अमेरिका, अष्ट्रेलिया, बेल्जियम, स्पेन, पोर्चुगलमा शो हुने पक्का भईसकेको र बाँकी देशमा पनि कुरा भईरहेको बताए ।
'ऋतु’ले प्रदर्शनको सुरुवात भने मार्च ६ मा अष्टेलियाको इभेन्ट्स सिनेमाजको गोल्ड क्लासमा प्रदर्शन गरेबाट थाल्नेछ । जुन शोको व्यवस्थापन सिड्नीमा रहेका एनआरएनले गरेका छन् । भारत, लण्डन, कोरिया र इजरायलमा ‘ऋतु’ को प्रदर्शन अधिकार बिक्रीबारे कुरा भईरहेको पनि निर्माता बिष्टले बताए ।
मनोज अधिकारी निर्देशित ‘ऋतु’ फिल्ममा अभिनेता राजबल्लभ कोइराला, पुर्व मिस नेपाल मलिना जोशी, अभिनेत्री रिमा विश्वकर्माको मुख्य अभिनय छ । ‘ऋतु’ मा सैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टको संयुक्त लगानी छ ।

