स्व. निर्देशक शिव रेग्मी निर्देशित फिल्म ‘मनले मनलाई छुन्छ’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । अभिनेता विरेन श्रेष्ठ र गरिमा पन्तको मुख्य भूमिका रहेको यो फिल्म नेपाली नयाँ बर्षको अवसर पार्दै चैत २८ गते पचास भन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हँदैछ ।
फिल्ममा अभिनेता श्रेष्ठ र सुनिल सिटौलाको संयुक्त लगानी छ । सार्वजनिक गरिएको ‘मनले मनलाई छुन्छ’ को शिर्ष गीतलाई चितवनको राईनो ताल, ठीमुरा, धुलिखेल लगायतका स्थानमा छायाँकन गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको यो गीतमा माण्डवी त्रिपाठीले स्वर दिएकी छिन् । शब्द रचना बाबुराम दाहालको हो । ‘मनले मनलाई छुन्छ’ मा कविराज गहतराज र हिमग्याप टासीले नृत्य निर्देशन गरेका छन् ।
डेढ बर्षदेखि प्रर्शनको पर्खाइमा रहेको ‘मनले मनलाई छुन्छ’ त्रिकोणात्मक प्रेमकथाको पारिवारिक फिल्म हो । मिराकल मिडिया प्रालीको प्रस्तुती रहेको फिल्ममा विरेन र अभिनेत्री गरिमा पन्तको साथमा सुमन सिंह, मिथीला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । स्व.निर्देशक रेग्मी र मौनता श्रेष्ठको पटकथा एवम् संवाद रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । फिल्मका छायाँकार शम्भू सापकोटा हुन् ।

