नेपाली फिल्म झेलीको विहिबार पोखरामा विशेष शो भएको छ । पोखराका कलाकर्मी र संचारकर्मीहरुलाई झेली देखाईएको हो । निर्माण युनिटले पोखराको पुर्णिमा चलचित्र घरमा फिल्म देखाएको थियो ।

फिल्मका निर्देशक, निर्माता र नायिकाले पनि कलाकर्मी र संचारकर्मीहरुसंगै फिल्म हेरे । फिल्मको रिभ्यूका लागि पोखरामा विशेष शो आयोजना गरिएको झेलीको निर्माणपक्षले जानकारी दिएको छ । झेली हेरिसकेपछि अधिकांशले नवनायिका सुर्बिना कार्कीको प्रशंसा गरेका थिए । फिल्ममा उनको अभिनय दमदार रहेको धेरैको प्रतिक्रिया थियो ।
‘फरक विषयवस्तु र प्रस्तुती नै हाम्रो फिल्मको सबल पक्ष हो,’ फिल्मको बारेमा जानकारी दिँदै ‘झेली’ निर्देशक कमल दाहालले भने- ‘पोखराबाट पाएको प्रतिक्रियाले हामी अझै बढि हर्षित भएका छौँ ।’ फिल्मलाई फागुन ९ गतेबटा अलनेपाल रिलिज गर्ने गरि निर्माणपक्षले प्रचारप्रसारलाई अगाडि बढाएको छ ।
सुर्बिनाको अलावा फिल्ममा अनिल थापाको पनि मुख्य भुमिका छ । पैसा कमाउने र धनी हुने वहानामा मान्छेले कति सम्म झेली गर्छ भन्ने विषयलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ । फिल्मले सबैभन्दा ठुलो सम्पत्ति पारिवारीक सम्बन्ध भएको सन्देश समेत दिएको छ । र, एउटी युवतीका कारण बनिबनाऊ सम्बन्ध कसरी भत्किन्छ भन्ने कुरालाई फिल्ममा देखाईएको छ ।

