नेपाली फिल्म इतिहासमा एउटा अनौठो सम्झौता भएको छ । बरिष्ठ फिल्मकर्मी निर शाह र छायाँकार संजय लामाले करिब २० हजार फिट माथी फिल्ममा काम गर्न सम्झौता गरेका छन् ।
निर शाहले आफ्नो नयाँ फिल्म 'सेतो बाघ'का लागि छायाँकारको रूपमा संजय लामालाई 'एयर एसिया' नामक हवाईजहाजमा 'एग्रिमेण्ट' गरेका हुन् । संजयलाई रू १ लाख ७५ हजारमा शाहले अभिनेत्री करिष्मा मानन्धर र फिल्मकर्मी केशब भट्टराईलाई साक्षी राख्दै फिल्ममा काम गर्ने सम्झौता गरेका हुन् । सम्झौतासँगै शाहले छायाँकार संजयलाई पेश्की स्वरूप एक सय अमेरिकी डलर दिए ।
'फिल्ममा काम गर्ने कुरा भएको थियो तर यसरी प्लेन भित्र नै एग्रिमेन्ट हुन्छ भनेर सोचेको थिईन,' संजयले खुसी साट्दै भने- 'मेरो जीवनको यो बिल्कुलै नयाँ अनुभव हो । आज अत्यन्तै खुसी छु ।' यता शाहले संजयको काम देखेर आफूले एग्रिमेन्ट गरेको बताउँदै भने- 'काम गरेपछि केहि नयाँ होस् भनेर हवाईजहाज भित्रै एग्रिमेन्ट गरेको हुँ ।'
मलेसियामा हुन लागेको छैठौं नेफ्टा अवार्डमा सहभागी हुन जाने क्रममा शाहले संजयलाई आफ्नो फिल्मको छायाँकार बनाउने निर्णयसँगै एग्रिमेन्ट गरेका हुन् । चर्चित साहित्यकार डायमन शमसेर राणाको बहुचर्चित उपन्यास 'सेतो बाघ'माथी आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो । फिल्मका अधिकांश नयाँ कलाकारहरूको अभिनय रहने बताईएको छ ।




