Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन हराइन् श्वेता ?

फिल्मीखबर, काठमाडौं, 2014/01/30

‘अभिनेत्री श्वेता भट्टराई पनि हराइन्, फिल्म नपाएपछि श्वेता पोखरामै फर्किइन् ।’ फिल्म ‘तिमी जहाँ भएपनि’बाट रजटपटमा पाईला राखेकी अभिनेत्री श्वेता भट्टराईका बारेमा फिल्मकर्मी यी र यस्तै खाले विषयमा गफिने गर्दछन् ।

 

आधा दर्जन फिल्ममा अभिनय गरेकी अभिनेत्री एकाएक अभिनयबाट टाढिएपछि फिल्मकर्मी बीच गफको विषय बनेकी हुन् । हराएकी भनिएकी अभिनेत्री भट्टराई यसै साता फिल्म ‘प्रोड्युसर’ को प्रेसमिटमा सहभागी हुन राजधानी आइपुगिन् । श्वेता गृहथलो पोखराबाट सिधैं अनामनगरमा भएको ‘प्रोड्युसर’ फिल्मको कार्यक्रमस्थल आइपुगेकी थिइन् ।


पोखरामै ‘प्लस टु’ को अन्तिम परिक्षा दिएर फुर्सदमा रहेकी श्वेताले सहकर्मीको उक्साहटमा एक अनलाईनका लागि फोटोसुट गरेकी थिइन् । उनको उक्त फोटो नेपाली फिल्म तथा म्युजिक भिडियो निर्देशकको आँखामा परेछ । श्वेता सम्झिन्छिन्- ‘फोटो हेरेर म्युजिक भिडियोमा खेल्न अफर गर्ने धेरै नै थिए ।’ म्युजिक भिडियोको अफरलाई ‘नो’ भन्दै बसेकी श्वेताले फिल्म खेल्ने अफरलाई भने लत्याउन सकिनन् ।

 

परिवार र सहकर्मीको साथ पाएपछि श्वेता पहिलो फिल्म ‘तिमी जहाँ भएपनि’ खेल्न राजधानी आइन् । श्वेता सुनाउँछिन्- ‘पहिलो भएपनि फिल्म खेल्न कुनै गाह्रो भएन । काम राम्रैसँग सकियो ।’ दोस्रो फिल्म ‘ब्ल्याक मेल’को सुटिङताका श्वेता झन्डै सुटिङ छोडेर हिडेकी थिइन् । किन ? उनले कारण खुलाइन्- ‘सुमन र जीवन दाइसँग काम गर्न अप्ठ्यारो लाग्यो । उहाँहरुको अगाडी अभिनयमा फिक्का देखिन्छु कि भन्ने डर थियो । सबैले सम्झाएपछि हिम्मत आयो ।’

 

‘सो सिम्पल’ फिल्ममा छोटो भूमिकामा अभिनय गरेकी श्वेतालाई विकास आचार्यको ‘रिदम’ फिल्मको सुटिङ अवधी सबैभन्दा स्मरणीय लाग्छ । ‘गल्ली’ प्रदर्शनको पर्खाइमा रहेकी श्वेताले ‘भाकल’ नामक फिल्म साइन गरेकी छिन् । यो बाहेक उनको हातमा अरु फिल्म छैनन् । फिल्म नपाएको हो ? बिबिए पाँचौं सेमेस्टरकी विद्यार्थी श्वेताले भनिन्- ‘हैन’, ‘फिल्म नपाएर भन्दा पनि चित्त बुझ्दो रोल नपाएर खाली बसेको हुँ । अहिले मेरो पूरा फोकस पढाइमा  छ ।’