झन्डै २ सय वटा नेपाली फिल्ममा द्धन्द्ध निर्देशन गरेका एनबी महर्जनको दोस्रो निर्देशकिय फिल्म ‘तोरी लाहुरे’ फागुन २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । दुई बर्ष अघि ‘बजार’ फिल्मबाट रजतपटमा डेव्यु गरेका एनबी महर्जन निर्देशित फिल्म ‘तोरी लाहुरे’सँगै ‘सकस’ र ‘डन गिरी’ पोष्ट प्रोडक्सनमा छन् ।
पहिलो फिल्म ‘बजार’लाई फर्मुला श्रेणीमा बनाएका निर्देशक महर्जनले ‘तोरी लाहुरे’लाई भने फरक शैलीमा प्रस्तुत गरेका छन् । निर्देशक महर्जन भन्छन्- ‘एउटै खालको फिल्म बनाउँदा 'मोनोटोनश' होला भनेर फरक गर्न खोजुको हुँ ।’ ‘तोरी लाहुरे’को फरक पक्ष के हो ? उनी भन्छन्- ‘यो फिल्ममा चार वटा फाईट र तीन वटा गीत मात्रै छैन । नेपाली समाजमा बेरोजगार बनेका तोरी लाहुरे भनी सम्बोधन गरिने युवाको कथालाई फिल्ममा रमाइलो ढंगले प्रस्तुत गरेको छु ।’
निर्देशकले ‘तोरी लाहुरे’मा स्थापित कलाकारलाई लिएका छैनन् । व्यापारमा जोखिम होला नि ? भन्ने प्रश्नमा निर्देशकको प्रस्ट्याई छ- ‘तोरी लाहुरेका हरेक कलाकार पात्र सुहाउँदो छन् । उनीहरु स्थापित कलाकार हैनन् तर फिल्ममा उनीहरुले बेजोड प्रस्तुती दिएका छन् ।’ पिजी सर्टिफिकेट प्राप्त ‘तोरी लाहुरे’ मा सुवास थापा, गजित विष्ट, रोहित रुम्बा, समुना केसी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ ।
नेपाली फिल्म क्षेत्रमा सर्वाधिक प्रयोग गरिने ‘मुर्गा फसाउने’ भन्ने शब्द निर्देशक महर्जनलाई राम्रो लाग्दैन । किन ? उनले भने- ‘यो कसैलाई पनि फसाउने क्षेत्र होइन । फिल्म क्षेत्रलाई हामीले व्यावसायमा विस्तार गर्नुपर्छ । त्यसैले मुर्गा फसाउने भन्ने नै हुँदैन ।’ तपाईले पनि मुर्गा फसाउनु भएन ? उनी कड्किए- ‘फिल्ममा लगानी गरिदेऊ भन्दै म मुर्गा खोज्दै हिडिन । मसँग क्षमता छ । मलाई खोज्दै निर्माता आएका हुन् ।’

