नेपाली नयाँ बर्षलाई लक्षित गरी चैत २८ गते प्रदर्शन गरिने फिल्म ‘नाइ नभन्नु ल २’ मा समावेश ‘यी आँखामा तिमी छ्यौं’ बोलको गीत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको संगीत तथा कृष्णहरी बरालको शब्द रहेको यस गीतमा प्रेम परियारले स्वर दिएका छन् ।
निर्देशक विकास आचार्यले ‘नाइ नभन्नु ल २’ मा बालप्रेमलाई फिल्मको मेरुदण्ड बनाएका छन् । फिल्मको शिर्ष भूमिकामा अनुभव रेग्मी र सुज्ञानी भट्टराई छन् । यसअघि युवाप्रेम र राष्ट्रप्रेमका विषयमा फिल्म निर्देशन गर्दै आएका निर्देशक आचार्यले ‘नाइ नभन्नु ल २’ मा प्रस्तुत गरेको बालप्रेमको विषयले हरेक बर्ष समुहका दर्शकलाई हलसम्म तान्ने विश्वास छ ।
विकास आचार्य गीत हिट बनाएर दर्शकलाई हलमा आकर्षण गर्ने निर्देशकको रुपमा समेत परिचित छन् । आचार्य निर्देशित फिल्मका ‘नाइ नभन्नु ल’, ‘म तिम्रो भैंसके’, ‘पागल म बन्न सक्छु’ जस्ता गीत हिट छन् । ‘नाइ नभन्नु ल २’ को ‘यी आँखामा तिमी छ्यौं’ बोलको गीत पनि दर्शक तथा श्रोताले रुचाउने निर्देशक आचार्यको विश्वास छ ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको यस फिल्ममा अनुभव र सुज्ञानीको साथमा सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेल (धुर्मुस) लगायतको मुख्य भूमिका छ । फिल्मका निर्माता निर्देशक आचार्य र दिनेश कुमार पोखरेल हुन् ।

