अनामनगरको युनियन हाउसमा सञ्चारकर्मीका बिच निर्माता राजकुमार राईलेले भने- ‘फिल्म चल्न राम्रो पब्लिसिटी डिजाईनको आवश्यक छ । मलाई लाग्छ, मैंले आफ्नो फिल्मको राम्रो प्रचार गर्न सकिन तर मलाई थाहा छ, कहाँ हान्दा कहाँ लाग्छ !’ फिल्म ‘प्रोड्युसर’ को प्रेसमिटमा निर्माता राईले यस्तो अभिव्यक्ती दिएका हुन् ।
शुक्रबार रिलिज हुने प्रचलन भएपनि सार्वजनिक बिदा परेपछि ‘प्रोड्युसर’ भोली माघ १६ गते बिहिबारबाटै मोफसलका पर्दामा प्रदर्शन हुँदैछ । निर्माता राईले ‘प्रोड्युसर’ बिहिबार रिलिज हुने प्रसंगलाई धुमाउरो तरिकाले 'कहाँबाट हान्दा कहाँ लाग्छ' भन्ने अभिव्यक्ती दिएका हुन् । बिहिबार शहिद दिवस र शुक्रबार ल्होसार परेपछि दुई दिनको सार्वजनिक बिदामा फिल्म हेर्ने दर्शकको संख्या हलमा बढ्ने विश्वास छ ।
प्रेसमिटमा फिल्मका अर्का निर्माता ज्योतिराज राईले फिल्मको विषयवस्तु बारे जानकारी गराए । उनले भने- ‘फिल्म क्षेत्रमा संघर्षरत तीनजना युवाको कथा फिल्मले भन्छ । फिल्मलाई हामीले राम्रो बनाउने प्रयास गरेका छौं ।’ निर्देशक जनकदिप पराजुली भने ‘प्रोड्युसर’ प्रदर्शनको लागि यतिखेर दुबईमा छन् ।
त्यस्तै लामो संघर्षपछि फिल्ममा मुख्य भूमिका निभाउने अवसर पाएका सञ्चारकर्मी श्याम अर्यालले आफ्नो विगत कोट्याए । ‘प्रोड्युसर’ को पर्दामा समेत हिरोको रोल निभाएका श्यामले सम्झिए- ‘फिल्म पाउन निकै हन्डर र ठक्कर खाएँ तर निरन्तर लागी नै रहें । मेरो फिल्म खेल्ने सपना पुरा भएको छ । आशा गर्छु, फिल्म सफल हुने हाम्रो सपना पनि पुरा हुनेछ ।’
पोखराबाट प्रेसमिटका लागि काठमाडौं आजै ल्यान्ड भएकी अभिनेत्री श्वेता भट्टराईले फिल्म मनोरञ्जक भएको भन्दै सम्पूर्ण दर्शकलाई ‘प्रोड्युसर’ हेर्न निम्ता दिइन् । फिल्मका स्क्रिप्ट राईटर तथा संगीतकार किरन माइकलले फिल्म राम्रो बनेको बताए । च्यारेटी तथा प्रिमियरमा रुचाइएको फिल्मले राम्रो कलेक्सन गर्ने आशा गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी, पायल रायमाझी, श्याम राईको पनि मुख्य भूमिका छ ।




