‘खोई त मलाई झुम्के बुलाकी’ भन्दै नेपाली संगीत बजारमा छाएकी आस्था राउत स्टार एफ.एम. म्युजिक अवार्डको नोमिनेशनमा परेकाहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा भने आफ्नै झुम्का खोज्दै थिईन् ।
कोरियाबाट ल्याएको महंगो र प्रिय लाग्ने कानमा लगाएको झुम्का हराएपछि आस्था खुसी देखिईनन् । झुम्का एकाएक हराएपछि आस्था रनभुल्लमा परिन् । नजिक बस्ने सबैसँग सोधिन् । कुनाकाप्चा सबैतिर खोजिन् तर आस्थाले हराएको झुम्का भेटिनन् । आस्थाको झुम्का कसैले लग्यो या खस्यो ? कुनै पत्तो भएन ।
माघ २९ गते हुने स्टार एफएम म्युजिक अवार्ड २०७०मा आस्था 'खोइ त मलाई झुम्के बुलाकी'बाट उत्कृष्ट पाँच फिमेल सिङ्गर भित्र अटाएकी छिन् । हराएको झुम्का नपाएपनि 'खोइ त मलाई झुम्के बुलाकी' भन्दै गाएको गीतबाट चाहिं आस्थाले अवार्ड पाउँछिन् कि !

