फिल्म रिलिज पूर्व गरिएको च्यारिटी शोबाट पाएको सकारात्मक प्रतिक्रियाले फिल्म ‘मोक्ष'ले सफलता पाउने लक्षण देखाएको फिल्मका कलाकार दिपेश भण्डारीले दाबी गरेका छन् । गृहनगर धरान आएको बेला फिल्मीखबरसँग कुरा गर्दै रिलिज पूर्व फिल्मको हाइप बढिरहेको दिपेशले बताए ।

फिल्मले इनिसियल व्यपार गर्ने भन्दा पनि 'वर्ड अफ माउथ'ले चल्ने कुरामा आफ्नो टिम ढुक्क रहेको उनको कथन थियो । निर्देशक प्रविन श्रेष्ठको जीवनमा घटेका घटनामा आधारित रहेर फिल्म बनेको हुनाले दर्शकलाइ फिल्मले सबै किसिमको मनोरञ्जनको साथै सन्देश समेत दिने उनले बताए ।
संगीत फिल्मको मुख्य थिम भएकोले फिल्मका गीत संगीत उत्कृष्ट बनेको र यतिबेला चर्चामा रहेको दिपेशको भनाई छ । फिल्मका अधिकांश कलाकार नयाँ भएपनि नाट्य, गायन र कलाकारिताको अन्य क्षेत्रमा अनुभवी रहेको उनको कथन थियो । आफू स्वयं बिगत लामो समयदेखि गुरुकुलमा आबद्द रहेको बताउदै फिल्म भित्र ब्याण्ड मेम्बरको भूमिकामा प्रस्तुत भएको उनले खुलाए ।
यहि माघ २४ गते रिलिज हुन लागेको यो फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ । फिल्मलाई सुनिल मानन्धरले निर्माण गरेका हुन् ।

