केही बर्षयता पाश्र्व गायिका अन्जु पन्तको दौडधुपमा सुस्तता छाएको छ । नेपाली फिल्म गीतमा सर्वाधिक स्वर रेकर्ड गराउने अन्जुलाई रेकर्डिङ स्टुडियोमा भेट्नै मुस्किल छ । झन्डै दुई सय फिल्म गीतमा स्वर दिएकी अन्जु किन सुस्ताइन् त ?
‘स्टार एफएम म्युजिक अवार्ड’ मा उत्कृष्टको प्रमाण पत्र ग्रहण गर्न आएकी अन्जुले समय अभावका कारण फिल्म गीत रेकर्डिङमा समय दिन नपाएको बताइन् । केमा व्यस्त हुनुहुन्छ ? अन्जुले आफ्नो व्यस्तताको बेलिविस्तार लगाइन्- ‘स्टेज कार्यक्रम, मेला महोत्सवमै व्यस्त छु । पारिश्रमीक लिएर रेकर्ड गराउन बाँकी दर्जन बढी आधुनिक र फिल्मको गीत रेकर्ड गराउन पाएको छैन ।’
यही साताबाट नेपालका एक दर्जन बढी शहरमा प्रस्तुती दिन तयार हुँदै गरेकी अन्जु तीन महिना पछि कार्यक्रम लिएर विदेश उड्दैछिन् । उनले सुनाइन्- ‘युके र स्विटजरल्याण्डमा उड्ने पक्का भैसक्यो । अन्य देशसँग कुरा हुँदैछ ।’ नयाँले तपाईलाई फुर्सद दिएका हुन् ? भन्ने प्रश्नमा अन्जुले भनिन्- ‘म नयाँलाई आत्मैबाट स्वागत गर्दछु । नयाँ पाश्र्व गायिका म भन्दा पनि राम्रो गाउन सकुन्, मेरो कामना छ ।’

