कमेडी फिल्म ‘छ एकान छ’ले विदेशी फिल्म बजारबाट पनि ठुलै रकम हात पारेको छ । फिल्मप्रतिको प्रतिक्रिया तथा नेपाली हलमा आक्रमक कलेक्सन गरेपछि देशबाहिर ‘छ एकान छ’को बिक्रि बढेको हो ।
तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारको मुख्य अभिनय रहेको ‘छ एकान छ’ को प्रदर्शन राइट अष्ट्रेलिया, अमेरिका, लण्डन, कोरिया र कतारमा बिक्री भैसकेको छ । यी देशबाट निर्माता दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले अग्रिम रकम लिइसकेका छन् । मलेसिया, दुवई र जापानमा दिनेश डिसी निर्देशित फिल्मको प्रदर्शन अधिकार बारे केही दिनमै सम्झौता हुने दिपाश्रीले बताइन् ।
सम्झौता गर्न बाँकी देश सहित निर्माण युनिटलाई बिदेशी फिल्म बजारबाट झन्डै ५५ लाख रूपैयाँ रकम प्राप्त हुने देखिएको छ । जुन रकम नाफाको हो । निता ढुङ्गाना सोलो अभिनेत्री रहेको फिल्मले नेपालबाट झन्डै २ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको छ । नेपालबाट ६० लाख रूपैयाँ लगानी उठाएर फिल्मले निर्मातालाई केही लाख नाफा समेत दिने पक्का छ । प्रदर्शनको तेस्रो हप्तामा समेत ‘छ एकान छ’ ले सार्वजनिक बिदाको दिनमा हाउसफुल र अन्य दिनमा मध्यमको व्यापार गरिरहेको छ ।

