Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

`छ एकान छ` पाइरेसी गर्नेलाई माफी

फिल्मीखबर, काठमाण्डौ, 2014/01/26

देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'छ एकान छ'को अनलाइन पाइरेसीको अभियोगमा पक्राऊ परेका संदीप मगरलाई फिल्मका निर्माता दिपकराज गिरी र दीपाश्री निरौलाले माफी दिएका छन् । मानवताको नाता र कलाकारको मन कोमल हुन्छ भन्दै निर्माताले मगरमाथि लगाएको उजुरी फिर्ता लिएका हुन् ।

 

नोकिया N-8 मोबाइलबाट फिल्म खिचेर युटुबमा हालेका संदीपलाई फिल्मका निर्माता दीपकराज गिरी र दीपा श्री निरौलाको उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग, हनुमानढोकाले हिरासतमा लिएको थियो । पाइरेसीको अभियोगमा शुक्रबार पक्राऊ परेका १२ कक्षामा पढ्ने काभ्रेका संदीपलाई आइतबार दिउँसो छाडिएको हो । बरिष्ठ प्रहरी उपरिक्षक बिजय लाल कायस्थले निर्माताद्धय गिरी र निरौलाले उजुरी फिर्ता लिएपछि संदीपलाई छाडिएको बताए ।

 

५० लाख क्षतिपूर्तिको दाबी सहित संदीप विरुद्ध उजुरी दिएका निर्माता गिरी भविष्यमा कसैले पनि यस्तो दुस्साहस नगरोस् भनेर कडा कारवाहीका लागि पहल गरेको तर संदीप भर्खर १२ कक्षामा पढिरहेको हुनाले उसको भविष्य अन्धकार नहोस् भनेर माफि दिएको बताए । शुरूमा संदीपप्रति आक्रोषित देखिएकी निर्माता निरौलाले भनिन्- 'पाइरेसी गर्ने मनसायले फिल्म खिचेर राखेजस्तो लागेन । माफी दिनु नै ठूलो धर्म हो जस्तो लागेर लागेर छडिदियौं ।'

 

 

कलंकीस्थित कलंकी हलबाट मोबाइलमा फिल्म कैद गरेर साइबरमा पुगी युट्यूबमा अपलोड गरेका संदीपले ‘लाइक’आउने लोभले फिल्म खिचेर युट्यूबमा राखेको बताए । ‘फिल्म राम्रो लाग्यो । सबैले हेर्छन् भन्ने लागेर खिचेको हुँ । यस्तो गर्नु अपराध हो भन्ने थाहा थिएन,’ हनुमानढोकामा पत्रकार सामु संदीपले भने ।

 

 

प्रतिलिपी ऐन २०५९ अनुसार पाइरेसीमा संलग्न व्यक्तिलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुने छ भने प्रकाशन वा पुनरूत्पादन गरेको वा वितरण गरेको वा पुनरूत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ । त्यसैगरी संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ती समेत भराउने व्यवस्था छ ।