निर्देशक सूर्य बोहरा चौध बर्षपछि फिल्म नगरीमा फर्किएका छन् । निर्देशक बोहरालाई फिल्म ‘मुटु’ ले फिल्म नगरीमा कमब्याक गरायो । निर्देशक बोहोराकै लगानी रहेको मायाप्रेमको फिल्म ‘मुटु’ यही २४ गते अल नेपालबाट प्रदर्शन हुँदैछ ।
२३ बर्षको उमेरमा ‘अग्नि परिक्षा’ नामक फिल्म निर्देशन गरेका निर्देशक बोहरा किन फिल्म नगरीबाट टाढिए ? दोस्रो फिल्म ‘कान्छो’ निर्देशन गरेपछि अमेरिका उडेका निर्देशकले फिल्मीखबरसँग भने- ‘जीवनको ठुलो हिस्सा पढाइमा खर्चिएँ । अर्थपूर्ण फिल्म बनाउन अध्ययन आवश्यक थियो ।’ फिल्म क्षेत्र छोडेर भागेको आरोप नलगाउन समेत उनले आग्रह गरे । निर्देशक बोहराको भनाई छ- ‘विदेशमा लाहुरे भएर बस्न सक्तिन । करिअरको पहिलो पाइला जहाँ टेकें अन्तिम पाइला पनि त्यहिं नै टेक्छु ।'
थुप्रै नाटक तथा टेलिफिल्म समेत निर्देशन र अभिनय गरेका बोहराले जन्मेको माटो र हिंडेको बाटोलाई नभुल्ने दृढ संकल्प लिएका छन् । चौध बर्षपछि फिल्म नगरीमा फर्कदा निर्देशक बोहराले कस्तो महसुश गरे त ? ‘लामो समयपछि फर्कदा गुमाउनुको पिडा भन्दा पाउनुको आनन्द महसुश गर्दैछु ।’ तपाईको फर्काइ लामो भए जस्तो लागेन ? प्रश्न गरियो । ‘पंक्षी जति माथि उडेपनि आफ्नो गुँडमा फर्कन चाहान्छ, गुँड बसाल्न चाहन्छ’ उनी साहित्यिक सुनिए- ‘लामो समय भएपनि म आफ्नो गुँडमा फर्किएँ । अब म पनि फिल्म क्षेत्रमा गुँड बसाल्न चाहन्छु ।
'मुटु' फिल्मका निर्माता समेत रहेका बोहराले फिल्म क्षेत्रमा म विगत भएर हराउन नचाहेको भन्दै विगत, वर्तमान र भविष्य यही क्षेत्रलाई बनाउन चाहेको बताए । निर्देशक बोहरा बर्षले पुराना भए तर उनी नयाँ पुस्ताको फिल्मकर्मीसँग आफूलाई तुलना गर्छन् । आफ्नो मूल्याकंन कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ उनले दर्शकलाई छोडिदिए र भने- ‘कस्ले के गर्यो भन्दापनि कस्ले कस्तो गर्यो भन्ने महत्वपूर्ण कुरा हो ।’
फिल्म ‘मुटु’लाई चाहिं निर्देशक बोहराले कस्तो बनाएका छन् त ? ‘मुटु मैले देखेको दुनियाँको ‘रिफ्लेक्सन’ हो । यस को कथा सयौं बर्ष पुरानो हैन । यो हरेक नेपालीले देखेको, भोगेको कथाको प्रतिबिम्ब हो,’ उनले दाबी गर्दै भने । ‘मुटु’ चलाएर फेरी हराउनु त हुन्न ? जवाफ उनले यसरी दिए- ‘जुन संरचना बनाएको छु । त्यसलाई भत्किन दिन्न । दर्शकलाई मन छुने फिल्म दिने कोसिश गर्छु ।’ उनले अन्त्यमा आफ्नो फिल्म ‘मुटु’ लाई जोड दिदैं भने- ‘कथाकारको पृष्ठभूमि फरक हुनसक्छ तर हरेकको मुटु एउटै हुनुपर्छ ।’

