स्व. निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मीले विवाह गरेकी छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार स्व.निर्देशक पिता शिव रेग्मीकै चाहना अनुरुप भावनाको विवाह सम्पन्न भएको हो ।
स्व. निर्देशक रेग्मीले ‘मेरो अवस्था जे भएपनि माघमा भावनाको बिहे गरिदिनु’ भनेका थिए । निर्देशक रेग्मीद्धारा निर्देशित नेपाली नयाँ बर्षमा प्रदर्शन हुने ‘मनले मनलाई छुन्छ’का निर्माता तथा अभिनेता बिरेन श्रेष्ठले फिल्मीखबरलाई यस्तो जानकारी दिएका हुन् । माघ १० गते चितवनमा सम्पन्न भावनाको विवाहमा सहभागी भएका बिरेनले फिल्मीखबरसँग भने- ‘घर नजिकैको मन्दिरमा मावलीले भावनाको कन्यादान गरिदिएका हुन् ।’
बिरेनका अनुसार बिहे सामान्य रुपमा सम्पन्न भएको थियो । जहाँ स्व. निर्देशक रेग्मीका अत्यन्त निकट मानिने फिल्मकर्मी सहभागी थिए । विवाहमा स्व. निर्देशक रेग्मीको पत्नी भाववीहल भएकी थिइन् । उनी छोरीको वैवाहिक विधिमा सहभागी भइनन् । पिताद्धारा निर्देशित फिल्म ‘सो सिम्पल’मा समेत अभिनय गरेकी भावनाको विवाह काठमाडौंका एक व्यवसायीसँग भएको हो ।
गत बर्ष नै स्व. पिताले भावनाको बिहेको टुङ्गो लगाइदिएका थिए । रेग्मीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि भावनाको विवाह स्थगीत हुँदै गएको थियो । भावना पेशाले नर्स हुन् ।

