यसअघि 'भिजा गर्ल' फिल्म बनाएको कर्पोरेट कम्पनी सिजी इन्टरटेन्मेन्टसँग मिलेर कामना मासिक पत्रिकाले 'कामना फिल्म अवार्ड' गर्ने भएको छ । शुक्रबार साँझ राजधानीमा समारोहका विच अवार्ड गरिने बारे औपचारिक जानकारी गराईयो ।
अभिनेत्री करिष्मा मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रममा सिजी इन्टरटेन्मेन्टका अध्यक्ष बसन्त चौधरी र कामना पब्लिकेसनका अध्यक्ष पुष्करलाल श्रेष्ठले पाँच बर्षसम्म एउटै मितीमा अवार्ड गर्न सम्झौता गरे । कुल ३१ बिधामा वितरण गर्न लागिएको अवार्डको मिति भने तय गरिएको छैन ।
तीन दशक लामो यात्रा पार गरेको कामना पत्रिकाले नेपाली फिल्म क्षेत्रको उत्थान र विस्तारका लागि फिल्म अवार्ड गर्न लागेको कामना पब्लिकेसनका अध्यक्ष श्रेष्ठले बताए । यता सिजी इन्टरटेन्मेन्टका अध्यक्ष चौधरीले कामना फिल्म अवार्डसँग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवको पक्ष रहेको बताए । उनले निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले अवार्ड सम्पन्न गर्ने बताए ।
अवार्डको बारेमा जानकारी दिन आयोजित उक्त समारोहमा शंकर बिसी र उनका साथीहरूको समुहले नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मको झल्को दिने आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।




