हाल देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'छ एकान छ'को अनलाइन पाईरेसी भएको छ । सन्दीप मगर नाम गरेका एक युवकले फिल्मको मुख्य भाग मध्येको ५० मिनेट यूट्यूबमा अपलोड गरेका छन् ।
बलियो कानुन नहुँदा फस्टाई रहेको अनलाइ पाइरेसीको मारमा 'छ एकान छ' पनि परेको हो । बिशेषत: प्रदर्शन भईरहेका फिल्म एक्कासी अनलाइनबाट पाइरेसी हुँदा निर्माताले लाखौंको घाटा बेहोर्नु पर्ने अवस्था हुन्छ । यसअघि प्रदर्शनरत अवस्थामा 'छड्के' फिल्मको पनि अनलाइन पाइरेसी भएको थियो भने बिदेशमा रिलिज हुन बाँकि रहेको फिल्म 'नेपथ्य'को पनि पाइरेसी बहेको थियो ।
फिल्म 'छ एकान छ'को पाइरेसी हलमा फिल्म हेर्दै गर्दा खिचेर युट्यूबमा हालिएको हो । फिल्म पाइरेसी भएपछि निर्माण युनिट तनावमा छ । तेस्रो सातामा पनि राम्रो विजनेश गर्न सफल यो फिल्म पाइरेसी हुँदा त्यसको प्रत्यक्ष असर अर्न्तराष्ट्रिय बजारमा पुग्नेछ । निर्माण युनिट पाइरेसीकर्तालाई कारवाही माग गर्दै प्रहरी प्रशासनको ढोका ढक्ढक्याउन पुगेको छ ।
केहि बर्ष अगाडी फिल्म 'बाटो मुनिको फूल' हलबाट पाइरेसी हुँदा निर्माताले लाखौंको घाटा बेहोर्नु पर्यो । यि बाहेक पनि देशभर थुप्रै नयाँ तथा पुराना फिल्मको पाइरेसी बढ्दो छ । कमजोर कानुनका कारण पाइरेसी गर्नेहरू फस्टाउँदै गएको फिल्मकर्मीको गुनासो छ ।

