फिल्म खिच्नु पूर्व फिल्ममा समावेश हुने गीत रेकर्डिङ गर्ने प्रक्रियाको उल्टो देखिएको छ, फिल्म ‘आधी बाटो’ मा । सबिर श्रेष्ठ निर्देशित फिल्म ‘आधी बाटो’मा गीत रेकर्ड गराएर हैन, भिडियो छायाँकन गरेर गीत रेकर्डिङ गरिएको छ ।

डमी स्वरमा छायाँकन गरिएको ‘आधी बाटो’ को एउटा गीतलाई दिपक लिम्बुले रेकर्डिङ गराएका छन् । जुन गीतको भिडियोमा अभिनेता सविन श्रेष्ठले लिप्सिङ दिएका छन् । किन उल्टो प्रक्रिया ? निर्देशक श्रेष्ठले भने- ‘प्रक्रिया उल्टा भन्दा पनि फिल्मलाई स्तरिय बनाउने हाम्रो प्रक्रिया हो ।’ फिल्ममा समावेश अन्य पाँच गीतमा दिपकसँगै अभिनेता समेत रहेका यश कुमार र पवित्रा परियारको स्वर छ ।
‘आधी बाटो’ संगीत भने सुरेश अधिकारी र यश कुमारको छ । चैत २८ गते प्रदर्शन हुने फिल्ममा यश कुमार र जेनिशा केसी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा सविन श्रेष्ठ, अनु शाह पूर्व मिस नेपाल रुवी राणाको फिल्ममा अभिनय छ । नवराज थापाको छायाँकन रहेको ‘आधी बाटो’ मा कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मका लगानीकर्ता रमेश त्वायना हुन् ।

