मेरुदण्ड पक्षघात (स्पाईनलकड इञ्जुरी) भएका प्रविन श्रेष्ठको कथा, सम्पादन तथा निर्देशन रहेको ‘मोक्ष’ फिल्मले मन मात्रै छुँदैन, आँखालाई पनि रसाइदिन्छ । अपाङगता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने ‘सक्षम नेपाल’ नामक संस्थाको सहयोगार्थ ‘मोक्ष’ च्यारेटीमा सहभागीको मन मात्रै छोएन आँखा पनि रसाए ।
मेरुदण्डको पक्षघातले नम्बर एक हुने योजनामा रहेको साँगीतिक ब्यान्ड र व्यक्तिको जीवनमा आउने विभिन्न उतार चढावको फिल्म ‘मोक्ष’लाई च्यारेटीमा सहभागीले उत्कृष्ट रहेको प्रतिक्रिया दिए । निर्देशक प्रविन श्रेष्ठको भूमिका निभाएका कोशिस क्षेत्रीको जीवन्त अभिनयले सबैको ध्यान तान्यो । सकारात्मक प्रतिक्रियाले निर्माता सुनिल मानन्धरलाई समेत व्यापारिक फाइदा हुन सक्ने अड्कल बाजी सुरु भएको छ ।
‘मोक्ष’ हेरेपछि कलाकार तथा सञ्चारकर्मीले आफ्नो फेसबुक वालमा पोष्ट गरेको प्रतिक्रिया यस्तो छ :-
‘मोक्ष’ प्रचारमा सहभागीता जानइरहेकी अभिनेत्री निशा अधिकारी लेख्छिन्- ‘मोक्ष जस्तो फिल्म बनाएकोमा निर्देशक प्रविन श्रेष्ठलाई धेरै धेरै बधाई । नेपाली फिल्म क्षेत्रले ‘मोक्ष’ फिलमप्रती गर्व गर्नुपर्छ ।’ नागरिक दैनिकका रंगपत्रकार सामिप्य तिमल्सिना भन्छन्- 'प्रशंसा गर्न योग्य फिल्म बनेको छ । यो फिल्मका निर्देशकको भविष्य उज्जवल देखिन्छ ।' फेसबुकमा रंगपत्रकार शान्तिप्रिय मोक्ष बारे छोटकरीमा लेख्छन्, ‘मनोरञ्जन, सन्देश र संवेग... राम्रो फिल्म मोक्ष’ ।
सञ्चारकर्मी बिष्णु शर्मा लेख्छन्, ‘धेरैपछि सशक्त फिल्म हेरियो । ‘मोक्ष’ बायोपिक मात्र होइन, संवेदनाको खोजी पनि हो । संगीत र द्धन्द्धले पैदा गरेको भावनाको सम्प्रेषण फिल्मको शक्तिशाली पक्ष हो ।' अर्का सञ्चारकर्मी विजय आवज लेख्छन्, ‘नेपालमा ‘मोक्ष’ जस्तो फिल्म फेरी बन्ला या नबन्ला मलाई थाहा छैन । तर यो फिल्म हेर्न पाएकोमा साँच्चै भाग्यमानी ठान्दैछु । यति उत्कृष्ट फिल्म, मसँग कुनै शब्द नै छैन वर्णन गर्ने ।’
रेडियोकर्मी राज श्रेष्ठको प्रतिक्रिया- ‘राम्रो मात्रै हैन धेरै राम्रो फिल्म हेर्ने मौका पाइयो ‘मोक्ष’ । यो फिल्म हरेक पक्षबाट उत्कृष्ट बनेको छ । फिल्म हेर्दाहेर्दै हाँस्दाहाँस्दै रुनु पर्दा फिल्म हेरेर बाहिर निस्कंदा साथीहरुले आँसुले भिजेको आँखा देखेर जिस्काउलान् भन्ने पीर नै पर्यो ।’ त्यस्तै टेलिभिजकर्मी सचिन आचार्य प्रश्न गर्दै फेसबुकमा लेख्छन्, ‘कुन फिल्म राम्रो ? भन्दा ‘मोक्ष’ भन्ने उत्तर आए ठिकै छ । नत्र म जस्तै तपाइँ पनि दोधारमा पर्नु होला ।’
अर्का सञ्चारकर्मी दिनेश सिटौला भन्छन्- 'फिल्मले मेरो मन छोयो । वास्तविकताको नजिक पुगेको यो फिल्म हेरेर बाहिर निस्कदा केहि असहज महसुस भयो । अहिलेसम्म पनि फिल्मबाट बाहिर निस्कन सकेको छैन । सम्पूर्ण निर्माण युनिटलाई बधाई !'
प्रदर्शनपूर्व राम्रो प्रतिक्रिया पाउन सफल फिल्म यही माघ २४ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । च्यारेटीमा राम्रो प्रतिक्रिया पाउन सफल फिल्मले सार्वजनिक प्रदर्शनमा पनि यही रफ्तारलाई कायम राखोस्, शुभकामना !

