कमेडी फिल्म ‘छ एकान छ’ को उत्साहप्रद व्यापारले फिल्म बजारलाई पनि उत्साहित बनाएको छ । प्रदर्शनको दोस्रो हप्तामा यस फिल्मले डेढ करोड माथिको ग्रस कलेक्सन गरिरहेको सम्बन्धित पक्षको जानकारी छ ।
‘छ एकान छ’ को उत्साहप्रद व्यापारले निर्मातालाई खुसी दिएसँगै खतरा पनि बढाइदिएको छ । खतरा यस अर्थमा कि ‘छ एकान छ’ शैलीमा अथवा हाँस्य फिल्म निर्माण गरे दर्शक हलमा ओइरिन्छन् भन्ने भ्रम फिल्मकर्मीलाई पर्न सक्छ । ‘छ एकान छ’ किन र कसरी चल्यो ? केलाउन जरुरी छ ।
सिङ्गल थिएटरदेखि सुबिधा सम्पन्न हलमा ‘छ एकान छ’ हेर्न दर्शकको घुँइचो त्यतिकै लागेको होइन । फिल्म युनिटको आक्रमक प्रचारले दर्शकलाई हलसम्म तान्यो । प्रदर्शनको दुई हप्ता पूर्व राष्ट्रिय दैनिकमा प्रकाशित ‘छ एकान छ’ को ठुलो पोष्टर, साप्ताहिक हिट हाँस्य टेलिफिल्म तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी सहित अनलाईन पोर्टल तथा मेला महोत्सवमा कलाकारले हल जान दर्शकलाई गरेको आग्रहले ‘छ एकान छ’को हल भरियो ।
आगामी मितिमा प्रदर्शन हुने फिल्मकर्मीले ‘छ एकान छ’ को कथा कपी गर्नु भन्दा पनि निर्माण युनिटले अपनाएको आक्रमक प्रचार शैली अपनाउन जरुरी छ । दर्शकको उल्लेख्य उपस्थित गराउन फिल्मको आक्रमक पब्लिसिटी गर्नुपर्छ भन्ने पाठ ‘छ एकान छ’ ले सिकाएको छ । कन्सेप्ट कपी गर्दैमा फिल्म हिट हुने भए ‘लुट’ र ‘चपली हाइट’लाई 'फलो' गर्ने फिल्मले किन घाटा खानुपर्थ्यो र ?

