युवा पिंढीलाई फिल्म निर्माणमा उत्प्रेरित गर्ने उद्धेश्यका साथ काठमाडौं शहरमा ‘६० सेकेन्ड्स सर्ट फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । ‘मेरो कथा मेरो फिल्म’ नारा दिइएको सर्ट फिल्म फेस्टिभल यही शुक्रबार जनावरी १४ तारिखमा दिउँसो १ बजे लाजिम्पाटस्थित थिएटर भिलेजमा आयोजना हुँदैछ ।
४८ वटा ६० सेकेन्डस्का फिल्म देखाइने फेस्टिभल बारे एक प्रेसमिट गर्दै आयोजक इन्टरफेस नेपालले जानकारी गरायो । इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभुषण पाठकले फेस्टिभलको महत्व तथा आवश्यक बारे प्रष्ट्याए । ६० सेकेन्ड्स सर्ट फिल्म फेस्टिभलको आगामी संस्करण गर्ने जानकारी दिदैं कार्यकारी निर्देशक पाठकले भने- ‘युवावर्ग विकृतीमा नलागुन् भन्ने यस फेस्टिभलको उद्धेश्य हो ।’
त्यस्तै फेस्टिभलका संयोजक युवराज रायमाझीले फिल्म बनाउने संस्कृतिको विकास होस् भनेर ६० सेकेन्ड्स सर्ट फिल्म फेस्टिभल आयोजना गर्न लागेको बताए । फेस्टिभलमा विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका विदेशीबाट प्राप्त ४८ वटा सर्ट फिल्म अश्लिल नभएको जानकारी गराइयो । सर्ट फिल्म निर्वाचन, शिक्षा, स्वास्थ्य, राजनीति लगायत विविध विषयमा आधारित छन् ।
एक दिने ६० सेकेन्ड्स सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरिएको तीन फिल्मलाई पुरस्कृत समेत गरिनेछ । पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः २५, १५ र १० हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो । उत्कृष्ट पाँच भित्र पर्न सफल फिल्म निर्देशकलाई भने माउन्टेन फ्लाईटको अवसर दिइनेछ । माउन्टन फ्लाईट गर्नेले यसै विषयमा आधारित भएर सर्ट फिल्म निर्माण गर्नुपर्ने सर्त छ ।
आफू वरपरका समसामयिक विषय लिएर युवालाई लक्षित गरि आयोजना गरिएको फेस्टिवलका लागि गत मंसिर २५ सम्ममा विभिन्न विधाका ६० सेकेण्ड अवधि भएका छोटा फिल्महरु बुझाउन आह्वान गरिएको थियो । फिल्मकर्मी यादव खरेल, अभिनेत्री निशा अधिकारी, निर्देशक इलम दिक्षित, युवा परिचालक राजेन्द्र मुल्मी र फिल्म पत्रकार यज्ञश उत्कृष्ट फिल्म छान्न जुरी सदस्यमा छन् ।

